एमाले ऐना-५

एमालेमा ओली ‘प्राधिकार’ : माधव नेपालले ठाउँ दिए, उनैलाई हराइदिए 

काठमाडौँ । विसं २०७१ मा भएको एमालेको नवौँ महाधिवेशनबाट केपी ओली अध्यक्षमा निर्वाचित भएका थिए । उनले अर्का नेता तथा १५ वर्ष एमालेको नेतृत्व गरेका माधवकुमार नेपाललाई पराजित गरेका थिए । तर, त्यतिबेला ओली एमालेको ‘शक्तिशाली’ अध्यक्ष थिएनन् ।

केन्द्रीय कमिटीका अन्य पदाधिकारी र सदस्यमा ओली समूहकै हाराहारीमा नेपाल समूहका नेता पनि निर्वाचित भएका थिए । जसकारण पार्टीमा सन्तुलन मिलाएर लैजानुपर्ने अवस्था थियो । यद्यपि, ओलीले सल्लाहमा काम नगर्ने गरेको नेपाल समूहको आरोप हुन्थ्यो ।

२०७५ जेठ ३ गते एमाले र नेकपा(माओवादी केन्द्र)बीच एकता भएपछि ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा अध्यक्ष भए । माओवादीसँगको एकता प्रक्रियादेखि नै ओलीले माधव नेपाललाई किनारामा पारेका थिए । एकतापूर्व एमालेमा ३६ जिल्ला अध्यक्ष नेपाल पक्षका थिए । तर, सिन्धुपाल्चोकका झम्क नेपालकाे भूमिका खोसिएको थिएन।

   एमाले ऐना – १
इतिहासमा एमाले : जन्मियो कसरी‚ को को पुगे नेतृत्वमा ?

तत्कालीन नेपाल समूहमा रहेकी पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री हुनबाट रोक्न केन्द्रीय कमिटीमै नरहेका डोरमणि पौड्याललाई संसदीय दलको नेतामा विजयी गराउने ओली नै थिए । त्यस्तै पार्टी एकीकरणका बेला नेपाल समूहमा रहेका उपाध्यक्षहरू शाक्यसहित भीम रावल र युवराज ज्ञवालीलाई सचिवालयमा नै राखिएन । जबकि, सचिवालयमा कोही पनि महिला नहुँदा शाक्य स्वभाविक दाबेदार थिइन् ।

एमाले उपमहासचिवमा बढी मत पाएर विजयी भएका घनश्याम भुसाललाई नेकपाको महासचिव नबनाई कम मत पाएर विजयी भएका विष्णु पौडेललाई बनाइएको थियो । नेकपाको वरीयता विवादमा झलनाथ र माधव नेपाललाई भिडाइदिने पनि ओली नै भएको तत्कालीन नेपाल समूहका नेता बताउँछन् ।

तर, ओलीको सम्बन्ध प्रचण्डसँग उस्तै सुमधुर रहिरहन सकेन । २०७६ माघ १५–१९ को बैठकमा प्रचण्ड र नेपाल पक्ष मिल्दा ओली अल्पमतमा परे । यसपछि तत्कालीन नेकपा विवादको भूमरीमा फस्न पुग्यो । ओलीले प्रधानमन्त्रीको हैसियतमा दुई पटकसम्म प्रतिनिधि सभाको ‘असफल विघटन’ गरे । विवादकै बीच सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रूपमा फर्काइदियो ।

पूर्ववत् अवस्थामा फर्किएपछि पनि एमालेभित्र ‘रडाको’ रोकिएन । विवाद चुलिँदै जाँदा एक समूहले अर्को समूहका नेतालाई कारबाही गर्ने अवस्था आयो । अन्ततः एमालेका संस्थापक रहेका माधव नेपालले छुट्टै पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरे । त्यसपछि एमालेमा ओलीलाई चुनौती दिने अर्को नेता कोही देखा परेन । ओली शक्तिशाली अध्यक्ष बन्न पुगे, जसले चाहेअनुसार विधान परिवर्तन र व्यक्तिको पदस्थापन भएको छ ।

एमाले ऐना –२
एमाले स्थापनाको आधार : मनमोहनको छवि र मदनको प्रखरता

१०औँ महाधिवेशनमा भीम रावलले अध्यक्षमा ओलीलाई चुनौती दिने घोषणा गरेका छन् । ओली र रावल चुनावी मैदानमा उत्रिएस त्यो प्राविधिक विषय मात्र हुनेछ । किनभने, ओलीको जित लगभग सुनिश्चित नै छ । उनले चाहेकै व्यक्तिले पदाधिकारीमा जित्नेछन् । यसकारण ओली पुनः सम्पूर्ण प्राधिकारसहितको एमाले अध्यक्ष हुने निश्चितै छ ।

किन पनि भने उनीसँग टक्कर गर्ने माधव नेपालको ठूलो हिस्साले एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी गठन गरिसकेको छ भने ओलीसँग सहमति गरेर एमालेमै बसेकाहरूबीच पनि एकता छैन । उनीहरूमध्ये धेरैजसो ओलीलाई रिझाएर पद पाउने आशामा छन् ।

यस्तो छ, ओली–नेपाल संघर्षको इतिहास

केपी ओलीलाई एमालेमा माथिल्लो वरीयतामा ल्याउने काम तत्कालीन महासचिव माधव नेपालले नै गरेका थिए । एमाले मनमोहन अधिकारीको नेतृत्वमा सरकारमा हुँदा उपमहासचिवको जिम्मेवारी पाएका बामदेव गौतमलाई पाखा लगाएर २०५४ सालमा माधव नेपालले ओलीलाई तेस्रो वरीयता दिलाए । पहिलो वरीयतामा अध्यक्ष अधिकारी र दोस्रोमा महासचिव नेपाल नै थिए ।

दासढुंगा दुर्घटनामा परी मदन भण्डारीको मृत्यु भएपछि ओलीको प्रस्तावमा नेपाल महासचिव बनेका थिए। उता पार्टीभित्र सीपी मैनाली समूह सदाबहार प्रतिपक्षीजस्तै थियो । त्यही कारण आफ्नो गुट बलियो बनाउन माधव नेपालले ओलीलाई पार्टीमा शीर्ष ठाउँ दिएका थिए ।

ओली तेस्रो वरीयतामा पुग्नु र उनी सीपी मैनाली, राधाकृष्ण मैनाली, वामदेव गौतमलगायत नेताप्रति सधैँ अनुदार देखिनु पनि २०५४ सालमा एमाले विभाजनको कारण बन्यो । पार्टी विभाजनपछि एमालेमा ओलीले केही समय माधव नेपाललाई साथ दिए । तर, कालान्तरमा आफ्नै गुट बनाएर नेपाललाई चुनौती खडा गरे ।

विभाजनको चार वर्षपछि एमाले–माले एकता भयो । एकता भएको अर्को वर्ष २०५९ सालमा एमालेले सातौँ महाधिवेशन गरेको थियो । यही महाधिवेशनबाट ओलीले महासचिवमा नेपाललाई रोक्ने प्रयास गरे । त्यही महाधिवेशनमा उनले एमालेलाई बहुपदीय प्रणालीमा लैजानुपर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । तर, त्यो प्रस्ताव अर्को महाधिवेशनसम्मका लागि स्थगित गर्ने निर्णय भयो ।

बहुपदीय प्रणालीको प्रस्ताव माधव नेपालविरुद्ध गठजोडका लागि गरिएको आलोचकहरू बताउँछन् । त्यतिबेला उनलाई वामदेव गौतमले साथ दिएका थिए । नेपाललाई रोक्न नसकिने आकलनपछि उनी महासचिवको उम्मेदवार भने भएनन् । तर, केन्द्रीय कमिटीमा पराजित भएका १४ जनालाई त्यही पदमा मनोनित गराउन भने सफल भए ।

एमाले ऐना –३
यस्तो थियो एमालेमा ‘मदन भण्डारी युग’

त्यसो त नेपाललाई अप्ठ्यारो परिस्थितिमा ओलीको साथ पनि रह्यो । राजा ज्ञानेन्द्र शाहको ‘कू’ पछि माधव नेपाल गिरफ्तारीमा पर्दा कार्यवाहक महासचिव झलनाथ खनाल थिए । खनालले केही नेताको साथ लिएर महासचिवमा नेपाललाई हटाउने तयारी थाले पनि ओलीले रोकेको केही नेता बताउँछन् ।

पहिलो संविधान सभाको चुनावमा पराजित भए पनि माधव नेपाललाई सभासद् बनाइयो । पछि उनी प्रधानमन्त्री नै भए । उनलाई सरकारबाट हटाउन तत्कालीन मोओवादी केन्द्रले सडक आन्दोलन गरेको थियो । तर, प्रधानमन्त्रीबाट राजीनामा नदिन ओलीले नै नेपाललाई भरोसा दिएका थिए ।

२०६२/६३ को जनआन्दोलनमा भने ओली निष्क्रिय थिए । अझ उनले त आन्दोलनकै आलोचना गरेका थिए । तर, आन्दोलनको सफलतापछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा ओली परराष्ट्र मन्त्रालयसहित उपप्रधानमन्त्री भए । त्यसबेला उनलाई सरकारमा पठाउने निर्णय गरेका महासचिव माधव नेपालको आलोचना भएको थियो ।

तर, आठौँ महाधिवेशनमा भने ओलीले नेपालको साथ पाएनन् । त्यही महाधिवेशनबाट ओलीको चाहनाअनुसार एमाले बहुपदमा गएको थियो । अध्यक्षमा खनाल र ओली प्रतिस्पर्धामा थिए । तर, नेपालले खनाललाई साथ दिँदा ओली ११७ मतले पराजित भए । यहाँबाट भने नेपाल र ओलीको सम्बन्ध कहिल्यै राम्रो भएन ।

नवौँ महाधिवेशनमा ओली र नेपालले नै अध्यक्षमा प्रतिस्पर्धा गरे । जसमा ओलीले बाजी मारे । ओलीले १०५७ मत ल्याउँदा नेपालले १००३ मत मात्र पाए । तर, पदाधिकारी र केन्द्रीय कमिटीमा नेपाल पक्षका नेता पनि हाराहारीमा चुनिँदा एमाले शक्ति–संघर्षमा फसेको थियो । त्यही संघर्ष कालान्तरमा विभाजनको कारण बन्यो । ओली एमालेमा शक्तिशाली बने ।

हिंसात्मक राजनीतिबाट उदय

ओली २०२३ सालमा मार्क्सवादी अध्ययन दलको सदस्य भएका थिए । २०२५ सालमा पुग्दा उनी कम्युनिस्ट पार्टीको पूर्णकालीन सदस्य बने । तर, पार्टी सदस्य भने २०२६ सालमा मात्र पाए । २०२६ देखि २०३० सालसम्ममा उनको जेल पर्ने र छुट्ने क्रम चलिरह्यो । त्यो अवधिमा उनी करिब १० पटक गिरफ्तार भएका थिए ।

२०२७ सालबाट उनले भूमिगत जीवन सुरु गरे । २०२८ सालमा उनी झापा आन्दोलन संगठन कमिटी (झापा जिल्ला कमिटी नेकपा)को सचिव चुनिए । त्यति बेलासम्म प्रमुख रहेका राधाकृष्ण मैनालीलाई क्षयरोग लागेपछि ओली सचिव भएका थिए । तर, करिब ६ महिनामा नै फेरि सीपी मैनाली सचिव भए ।

एमाले ऐना-४
डेढ दशकसम्म माधव नेपालको नेतृत्व : एमाले ‘न पोथी न भाले ?’

झापा जिल्ला कमिटी ‘वर्ग शत्रु सफाया’ अभियानमा थियो । त्यसका लागि एक्सन कमिटी बनेको थियो । उक्त एक्सन कमिटीमा राधाकृष्ण, सीपी, केपीसहित मोहनचन्द्र अधिकारी र रामनाथ दाहाल थिए । तर, केपी ओली र मोहनचन्द्र अधिकारी केही व्यक्तिको हत्यापछि झापाबाट भागेका थिए । त्यति बेला झापाली वामपन्थीले नौ जनाको हत्या गरेका थिए भने अरु १३ जनामाथि सांघातिक हमला गरेका थिए ।

झापाबाट भागेका ओली तीन महिना मोरङमा लुके । उनलाई त्यहाँ माधव नेपालले नै सेल्टर दिएका थिए । त्यहाँबाट ओली मोहनचन्द्र अधिकारीसँगै रौतहट पुगेका थिए । २०३० असोज २३ गते ओली र अधिकारी गौरबाटै पक्राउ परे । त्यसपछि लगातार १४ वर्ष जेल बसे ।

जेलबाट २०४४ सालमा छुटेपछि उनी तत्कालीन मालेको केन्द्रीय सदस्य र लुम्बिनी अञ्चलको इन्चार्ज भए । २०४७ सालमा स्थापना भएको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक अध्यक्ष भएका थिए । उनी पाँचौँ महाधिवेशनपछि २०५० सालमा पहिलोपटक एमालेको पोलिटब्यूरो सदस्य छानिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *