कांग्रेस अधिवेशन : ७५ जिल्लाका पालिकामा सकियो, प्रदेश र क्षेत्रमा जारी

काठमाडौँ । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत ७५ जिल्लाका पालिकाको अधिवेशन सकिएको छ । देशभरका ७५ वटै जिल्लामा वडा अधिवेशन सकिएर गाउँपालिका र नगरपालिकास्तरीय कार्यसमितिको नेतृत्व समेत चयन भइसकेको छ । यस्तै ४८ जिल्लामा शुक्रवारदेखि धमाधम नेतृत्व चयन भइरहेको छ ।

 रसुवा र सर्लाहीमा भने क्रियाशील सदस्यताको विवादका कारण अधिवेशन हुन सकेका छैनन् । रसुवामा वडा अधिवेशन सकिए पनि पालिका तहको अधिवेशन सम्पन्न हुन पाएको छैन । सर्लाहीमा वडा अधिवेशन नै हुन सकेको छैन ।

अधिवेशन रोकिएपछि सर्लाही र रसुवाका जिल्ला सभापतिसहित नेताहरू काठमाडौँ आएका छन् । जिल्लाको विवादका विषयमा नेताहरूसँग छलफल गरेर विवाद समाधान गरी अधिवेशन अघि बढाउने तयारी भइरहेको बताइएको छ ।

कांग्रेसले ६ मंसिरमा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका बनाएको छ । हाल दैनिकजसो महाधिवेशनको व्यवस्थापनका लागि बैठक र छलफल चलिरहेका छन् । महाधिवेशनको व्यवस्थापनका लागि गठित समितिहरूले समेत तयारी अघि बढाएका बताइएको छ ।

कांग्रेसले मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा पार्टीको १४ औँ महाधिवेशन गर्ने कार्यतालिका छ । त्यसअघि अब १६५ वटा प्रतिनिधिसभा क्षेत्र, ७७ जिल्ला र ७ वटै प्रदेशको अधिवेशन भइसक्नुपर्छ । ‘

कांग्रेसले हालसम्म १४ हिमाली जिल्लामा भने अधिवेशन पूरा गरिसकेको जनाएको छ । डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ, सुनसरी, सिन्धुली, काभ्रेपलान्चोक, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौँ, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, बागलुङ, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, दाङ, बर्दिया, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, डोटी, अछाम, बैतडी, डडेलधुरा र कञ्चनपुरलगायत जिल्लामा शुक्रवारदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु भएको छ । यी जिल्लामा ५ गतेभित्र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि ६ गतेबाट प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु हुनेछन् ।

निर्वाचन समितिले यी जिल्लाहरूमा ६ मंसिरमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने मिति तोकेको छ । त्यस्तै, दुई वा सोभन्दा धेरै निर्वाचन क्षेत्र भएका जिल्लामा १० मंसिरमा जिल्ला अधिवेशन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *