पहिरो पीडितलाई राहत वितरण

धनकुटा । साँगुरीगढी गाउँपालिका ६ मुक्तेन र मझियाका पहिरो पीडित २६ घरपरिवारलाई गोर्खा वेल्फेयर ट्रस्टले खाद्यान्नसहित दैनिक उपभोग्य सामग्री प्रदान गरेको छ ।

साँगुरीगढी गाउँपालिका ६ को वडा कार्यालयको विशेष पहलमा गोर्खा वेल्फेयर ट्रस्ट नेपालको उत्थानशील खानेपानी, सरसफाइ, स्वच्छता तथा आपत्कालीन पूर्वतयारी कार्यक्रमअन्तर्गत मुक्तेन र मझियाका २६ घरपरिवारलाई राहत वितरण गरिएको हो ।

साँगुरीगढी गाउँपालिका ६ का वडाध्यक्ष यमप्रकाश (दिपक) को रोहवरमा गोर्खा वेल्फेयर ट्रस्ट धरानले स्थलगत रुपमा पुगेर दाल, चामल, तेल, ग्यास चुल्हा, साबुनजस्ता १९ प्रकारका दैनिक उपभोग्य तथा खाद्यान्न सामग्री पहिरो पीडित परिवारलाई वितरण थियो ।

मझुवा र मुक्तेन गाउँमा केही वर्षदेखि लगातार पहिरो जाँदा २६ मध्ये ११ घरपरिवार विस्थापित भइसकेको वडाध्यक्ष मगरले बताए । उनीहरू नजिकै रहेको आफन्तको जग्गामा अस्थायी टहरा निर्माण गरी बसिरहेका छन् । कात्तिक पहिलो साता अविरल रुपमा परेको वर्षाले सो क्षेत्रका अन्य बस्तीसमेत जोखिममा छन् । सो क्षेत्रको पहिरोले भेडेटार–रवि–राँके सडकलाई समेत झनै जोखिम बनाएको छ ।

साँगुरीगढी गाउँपालिका ६ मझुवाका टिकाराम घागा मगरको घरसहित १० रोपनीवारि पहिरोले बगाइदिएपछि अहिले उनी ससुरालीको जग्गामा अस्थायी टहरा बनाएर बसेका छन् । घरबारविहीन भएका हामीलाई गोर्खा वेल्फेयरले खाद्यान्नसहितको दैनिक उपभोग्य सामग्री दिँदा खुसी लागेको उनले बताए ।

‘कमाइ गर्ने जग्गा पहिरोले बगायो । हामी अहिले बिचल्लीमा छौँ ।’ उनले भने‚ ‘पहिरो गएको घरजग्गा हेर्दा मन थामिँदैन‚’ सरकारले स्थायी रुपमा हुने गरी स्थानान्तरणको व्यवस्था मिलाउन पहल गरिदिनसमेत उनले अनुरोध गरे ।

गोर्खा वेल्फेयर ट्रस्ट नेपाल धरानका एकाउन्टेन्ट सुरेन्द्र मादेनले पहिरोले घरबारविहीन बनेका यहाँका घरपरिवारलाई केहि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *