एमाले महाधिवेशन : १,९९९ प्रतिनिधि छानिँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले शनिवार मुलुकभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दैछ । संगठित सदस्यताका आधारमा जिल्लाबाट प्रतिनिधि चयन हुने प्रचार-प्रसार विभागका प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए । एमालेले आफूसँग ८ लाखभन्दा बढी संगठित सदस्यहरू रहेको दाबी गरेको छ ।

संगठित सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिका रूपमा १ हजार ९ सय ९९ छानिने छन् । कतिपय स्थानमा सर्वसम्मत रूपमा छानिसकेको पनि एमालेले जनाएको छ ।  प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना चयन गर्ने व्यवस्था छ ।

सो संख्यामा ८ सयसम्म सदस्य थप भएमा थप १ जना, १६ सयसम्म सदस्य भए थप २ जना, २४ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिलासहित ३ जना चयन हुने छन् । ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा १ जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था एमालेले गरेको छ ।

देशभित्रका जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि सो संख्यामा ५ सयसम्म सदस्य थप भएमा थप १ जना, १ हजारसम्म सदस्य थप भएमा थप २ जना, १५ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिलासहित ३ जना निर्वाचित हुनेछन् ।

भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्यमध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने प्रतिनिधित्व हुने छ । एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *