बारको नजरमा जबरा ‘भ्रष्ट’ प्रधान न्यायाधीश

काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘भ्रष्ट’ भनेको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा नाराबाजी गर्दै बारका पदाधिकारीहरूले प्रधान न्यायाधीश जबरालाई भ्रष्ट भनेका हुन् ।

विरोध कार्यक्रम शुरू गर्न लाग्दा प्रहरीले बल प्रयोग गरेर हस्तक्षेप गरेपछि चिढिएका उनीहरूले ‘प्रहरी दमन मुर्दावाद, भ्रष्ट प्रधान न्यायाधीश राजीनामा दे, नेपाल बार जिन्दावाद, हाम्रो आन्दोलन जारी छ, चोलेन्द्रका मतियार होसियार होसियार !’ लगायतका नारा लगाएका थिए ।

सर्वोच्च अदालतकै न्यायाधीशहरू आन्दोलनमा उत्रिएपछि अहिले बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाहरूको सुनुवाइ रोकिएको छ । प्रधान न्यायाधीश जबराको राजीनामा मागिरहेको बारले भने अझ सशक्त कार्यक्रमहरू ल्याउने बताएको छ भने प्रधान न्यायाधीश जबरालाई सर्वोच्च छिर्न नदिनेसम्मको चेतावनी दिएको छ ।

यसपछि प्रधान न्यायाधीश जबराले बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई समस्या समाधानका लागि भन्दै छलफलमा बोलाएका थिए । तर, अध्यक्ष श्रेष्ठले भने आफू एक्लै नजाने अडान लिएका छन् । अध्यक्ष श्रेष्ठले भने, ‘खबर पठाउनुभएको थियो । म गइनँ र जाँदिनँ पनि । एक्लाएक्लै वार्ता गरेर समस्याको समाधान हुने उहिल्यै भइसक्थ्यो । अब जे हुन्छ सामूहिकताबाट हुन्छ ।’

प्रधान न्यायाधीशको राजीनामाकाे एकसूत्रीय मागसहित आन्दोलनमा उत्रिएको बारले अन्य विकल्प स्वीकार्य नहुने दाेहाेर्‍याउँदै आएकाे छ । अध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो मुख्य एजेण्डा भनेको न्यायालयको सुधार हो । उहाँ (प्रधान न्यायाधीश जबरा) को राजीनामा त्यसको सुरुवात हो । उहाँले राजीनामा दिएपछि बल्ल न्यायालयको सुधारको कामहरू बारले गर्नेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *