अझै मिलेन भिम रावल र एमालेको ३० लाखको हिसाब

धनगढी । तत्कालीन नेकपा कम्युनिस्ट पार्टी (नेकपा) हुँदा भीम रावलको नेतृत्वमा पार्टीको खाताबाट लिइएको ३० लाख रुपैयाँ फिर्ता नभएको पाइएको छ । रावल तत्कालीन समयमा प्रचण्ड–माधव समूहमा रहेका बेला उनकै नेतृत्त्वमा प्रदेश कमिटीको खाताबाट झिकिएको रकम अझै फिर्ता नभएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ ।

उनी एमाले ब्युँतिसकेपछि माधव समूह हुँदै एमालेमै फर्किए पनि ३० लाख रुपैयाँको हिसाब नआएको एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टले बताए । मंगलबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा बोल्दै उनले यस विषयका कुनै छलफल नभएको बताए ।

‘पहिला सांगठनिक रुपमा पार्टीलाई व्यवस्थित गरौँ भन्नेर छलफलमा लाग्यौँ, त्यहाँ उहाँसँग कुरा नमिलिरहँदा खाताको प्रश्नै आएन‚’ उनले भने, ‘यस विषयमा कुरा गर्ने मौका पनि पाएको छैन । उहाँले पनि अहिलेसम्म केही भन्नुभएको छैन । हामीले पनि सोधेका छैनौँ ।’ उनले यस विषयमा बिस्तारै छलफल गर्ने बताए । ‘उहाँ पार्टीको उपाध्यक्ष भएकाले पार्टीको रकम फिर्ता दिनुहोला भन्ने हामीलाई विश्वास छ,’ उनले भने ।

रावलको नेतृत्वमा नेकपा विवाद हुँदाताका ३० लाख रुपैयाँ फिर्ता नगरेको आरोप लागेको थियो । रावलले पनि आफू इन्चार्ज भएकाले प्रदेश कमिटीको खाताबाट पैसा निकालेको स्वीकार गरिसकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *