विश्वकपबाट भारत बाहिरिँदा दर्शक आधा घट्ने, विज्ञापन बजारमा एक खर्बको घाटा

काठमाडौँ । टीम टी-२० विश्वकपको समूहचरणबाटै भारत बाहिरिएपछि अहिले अनेक कोणबाट विश्लेषण भइरहेका छन् । पछिल्लो समय भारतीय टीमको आलोचना निरन्तर भइरहेको छ ।

भारतीय क्रिकेटका समर्थक पीडामा छन् । यतिमात्र होइन‚ खेलको विज्ञापन स्लट खरिद गर्ने र बेच्ने एजेन्सी पनि निराश छन् । जारी विश्वकपमा सहभागी देशमध्ये सर्वाधिक जनसंख्या भएको भारत नकआउट चरणमा नपुग्नुको प्रभाव अब भ्युअरसीपमा पर्ने पक्का छ ।

जारी विश्वकपमा कुल १९९ करोड जनसंख्या भएका देशले खेलिरहेका छन् । जसमा सर्वाधिक १३५ करोड जनसंख्या भारतको मात्रै छ । जनसंख्याको हिसाबले ६७ प्रतिशत हिस्सा ओगटेको भारत प्रतियोगिताबाट बाहिरिएसँगै विश्वकपमा यसले पार्ने असरका बारेमा अनेकौँ अड्लबाजी सुरू भएका छन् ।

प्रतियोगितामा अब सेमिफाइनल र फाइनल गरी ५ खेल हुन बाँकी छन् । यी खेलमा टीभी तथा डिजिटल भ्युअरसीपमा ५० प्रतिशत गिरावट आउन सक्ने बताइएको छ । यी खेलका दौरान टीभीमा देखाइने विज्ञापनमा समेत १ खर्ब भारतीय रुपैयाँसम्म गुम्न सक्ने आकलन गरिएको छ ।

आईसिसी सुरक्षित
भारतीय टीम समूह चरणबाट बाहिरएलगत्तै अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई भने तत्कालै कुनै घाटा हुने देखिएको छैन । आईसीसीले २०१५ देखि २०२३ सम्म आफ्ना सबै प्रतियोगिताको प्रशारण तथा डिजिटल अधिकार स्टार इन्डियालाई करिब १४.८ हजार करोड भारतीय रुपैयाँमा बेचिसकेको छ । जसमा एकदिवसीय विश्वकप(२०१५,२०१९,२०२३), टी-ट्वेन्टी विश्वकप(२०१६,२०२१‚ २०२२), च्याम्पियन्स ट्रफी र आईसीसी टेस्ट च्याम्पियनसीप फाइनललगायत मुख्य प्रतियोगिता रहेका छन् ।

स्टार इन्डियालाई पनि छैन नोक्सान
आईसीसीको वर्तमान अफिसियल ब्रोडकास्टिङ कम्पनी स्टार इन्डियालाई पनि भारत बाहिरिँदा फरक पर्ने छैन । किनभने स्टार इन्डियाले टी-२० विश्वकपको विज्ञापन स्लट सबै विज्ञापन एजेन्सीलाई खरिद गरिसकेको छ ।

बाइङ एजेन्सीले जोगाएका थिए १०-१५ प्रतिशत स्लट
भारतीय टीम विश्वकपबाट बाहिरएको झट्का भने बाइङ एजेन्सीलाई लागेको छ । बाइङ एजेन्सीले १० देखि १५ प्रतिशतसम्म स्लट जोगाएर राखेका थिए । किनभने एजेन्सीहरू भारत सेमिफाइनल या फाइनल पुगेमा ठुलो मुनाफा कमाउने लोभमा थिए । तर अब यस्तो हुने छैन । अब यी राखिएका स्लट कम मूल्यमा उनिहरूले बेच्नुपर्ने बाध्यता आएको छ ।

सबै बाइङ एजेन्सी मिलाएर ७ सयदेखि १ हजार करोडसम्म गुमाउन सक्ने आकलन गरिएको छ । यसको अर्थ एक बाइङ एजेन्सीको ३८ देखि ५५ करोड भारूसम्म गुम्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *