प्रधान न्यायाधीशले राजीनामा नदिए थप गम्भीर अवस्था आउनसक्ने अधिवक्ताहरूको चेतावनी

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले पदीय मर्यादा कायम राख्न नसकेको भन्दै अहिले न्याय क्षेत्र आन्दोलित छ । सर्वोच्च अदालतभित्रै न्यायाधीशहरूले मुद्दाको सुनुवाइ नगरेर तथा सर्वोच्चको नजिकै रहेको नेपाल बार एशोसिएशनमा कानून व्यवसायीहरूले दिनहुँ प्रधान न्यायाधीश जबराको राजीनामा माग्दै प्रर्दशन गरेर दबाब दिइरहेका छन् ।

प्रधान न्यायाधीश जबराले मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको, विवादरहित न्यायालय बनाउने प्रतिवेदनलाई बेवास्ता गरेको, इजालस गठनमा मनमौजी गरेको, पेशी चढाएर पनि सुनुवाइ नगरेकोलगायत आरोप खेप्दै आएका छन् ।

नेपाल बार एशोसिएशनले त प्रधान न्यायाधीश जबरालाई राजीनामाका लागि बुधबारसम्मको ‘समयसीमा’ नै दिएको छ । तर, प्रधान न्यायाधीश जबराले भने सडक र सञ्चारमाध्यमबाट राजीनामा माग्दैमा नदिने अडान राख्दै आएका छन् ।

पछिल्लो समय उनले ‘मलाई सम्मानजनक बहिर्गमन’ चाहिन्छ भन्ने अडान राखेका छन् । तर, यो प्रस्तावले पनि मूर्तरूप लिन सकेको छैन ।

यसपछि यता प्रधान न्यायाधीश जबराको विपक्ष कित्तामा उभिएका अधिवक्ताहरूले आफूहरूलाई राजीनामाबाहेकका कुनै पनि विकल्प स्वीकार्य नहुने बताएका छन् । बार परिसरमा भएको कोणसभामा अधिवक्ताहरूले आफूहरूको एकसूत्रीय माग प्रधान न्यायाधीश जबराको राजीनामा मात्रै भएको जिकिर गरेका छन् ।

कसले के भने ?

-रमन श्रेष्ठ
हाम्रो ‘बटमलाइन’ भनेको प्रधान न्यायाधीशको राजीनामा हो । हामी यो किन भनिरहेका छौँ भने यो तीन वर्षसम्ममा न्यायालयले कुनै सकारात्मक स्वरुप ग्रहण गरेन । बरु भ्रष्टाचार बढ्यो । विचौलियाहरू बढे । त्यसको न्यूनीकरणमा सम्माननीयज्यूको कुनै ध्यान गएन ।

विभिन्न फैसलाहरूका कुरा छन् । बेन्च गठनका कुराहरू छन् । भ्रष्टाचार बढेको कुराहरू छन् । सम्माननीय न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बनाएका प्रतिवेदनको कुराहरू छन् । तर, सम्माननीय प्रधान न्यायाधीश ‘म नै हुँ’ भनेर बस्नुभयो । यसले सिङ्गो न्यायालयमा हमला गर्‍याे ।

तपाईं (प्रधान न्यायाधीश) लाई म भन्न चाहन्छु, तपाईंले अहिल्यै राजीनामा दिनुस् । यदि नदिएर यो विषय यसभन्दा अगाडि बढ्यो भने अझै जटिल बन्नेछ । यसपछि आउने परिणामको बारेमा अगाडि नै सोच्न आग्रह छ ।

-पूर्णमान शाक्य
हाम्रो बटमलाइन भनेको प्रधान न्यायाधीज्यूको राजीनामा हो । यसभन्दा दायाँबायाँ केही जान्दैनौँ हामी । राजीनामाबाहेकका कुनै प्रस्ताव हाम्रो लागि स्वीकार्य छैन ।  सुनिँदैछ, सर्वोच्चतिर समितिसमेत बनेको छ रे । थाहा छैन समिति कस्तो बन्यो, कसरी बन्यो, किन बन्यो ? समितिले जे ल्याएपनि, जे भने पनि हामी बटमलाइनबाट कहीँ जाँदैनौँ ।

प्रधान न्यायाधीशज्यूको राजीनामा मात्रै हामी किन मागिरहेका छौँ भने यो न्यायालय सुधारको एउटा सुरुवात हो । यसपछि पनि हामी न्यायालय सुधारको माग गर्दै अगाडि जानेछौँ । हामीले विकृति, विसंगतिरहित न्यायालय भनेका छौँ । यसका लागि हामी यसैगरी लडिरहनेछौँ ।

हाम्रो बटमलाइनबाट कहीँकतै हल्लिनुभयो भने यसपछिको प्रक्रियामा जान बाध्य भइन्छ । त्यो भनेको संसद्को काम हो ।

-ओमप्रकाश अर्याल
हामीले पटक-पटक भनिसक्यौँ, प्रधान न्यायाधीश श्रीमान्‌ले राजीनामा दिनुपर्छ भनेर । तर, उहाँले अझै दिनुभएको छैन । हाम्रो एकसूत्रीय माग भनेको प्रधान न्यायाधीशको राजीनामा हो । र, आजको समयमा यसको विकल्प पनि छैन ।

यदि यत्ति हुँदाहुँदै पनि उहाँ (प्रधान न्यायाधीश) को राजीनामा नआए यो विषय अझै जटिल बन्न सक्छ । म आग्रह गर्न चाहन्छु, सम्माननीयज्यू तपाईंले तत्काल राजीनामा दिनुस् ।

यदि राजीनामा नआएको खण्डमा हामी अझै सशक्त रूपमा अगाडि बढ्न बाध्य हुन्छौँ । हामीलाई बाध्य नबनाउनुस् । हामीसँग स्वतन्त्र संसद् छ । यो विषय त्यहाँसम्म नपुर्‍याऔँ । तपाईंले चाँडै निकास दिनुस् । महाभियोगसम्म नजानुस् ।

-सविता भण्डारी
न्यायपालिकामा भ्रष्टाचारहरू छन् । विकृतिहरू बढेका छन् । विसंगतिहरू चलेका छन् । यही विकृति, विसंगति र भ्रष्टाचारशून्य न्यायालय आजको हाम्रो चाहना हो । यसकै लागि न्यायाधीशहरूको संघर्ष हो, अधिवक्ताहरूको आन्दोलन हो । यसकै लागि नेपाल बार एशोसिएशनले पनि मुद्दा उठाएको हो ।

यो तीन वर्षसम्म तपाईं (प्रधान न्यायाधीश) ले के गर्नुभयो ? हिजोअस्तिको दिन भन्दै हुनुहुन्थ्यो, कि अब न्यायालय बनाउने काममा लाग्छु भनेर । अहिलेसम्म बिगार्ने अनि फेरि सपार्छु भन्ने ? बिगार्ने अधिकार कसले दियो तपाईंलाई ? अब तपाईंले रोज्नुपर्ने बाटो भनेको निकासकै हो । राजीनामाकै हो ।

तपाईंले अहिले नै राजीनामा दिनुभयो भने त्यो नै सरसम्मानसहितको बहिर्गमन हुनेछ । यदि यसभन्दा अगाडि बढ्नुभयो भने तपाईको बचेका सम्मानहरू पनि गुम्न सक्छन्, म चेतावनी दिन चाहन्छु, तपाईंले तुको तु राजीनामा गर्नुस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *