नाछिरिङ भाषाको कक्षा ३ को पाठ्यपुस्तक विमोचन, रिदुम खिम बन्दै

काठमाडौँ । नाछिरिङ भाषाको कक्षा तीन (तुल-सुक ३) को पाठ्यपुस्तक विमोचन भएको छ । किरात रदु नाछिरिङ साखाम केन्द्र, काठमाडौँले प्रकाशन गरेको पाठ्यपुस्तक शनिवार कपनस्थित एक रेस्टुराँमा आयोजित कार्यक्रम बीच विमोचन गरिएको हो ।

साखाम केन्द्रले कक्षा एक र दुईको पाठ्यपुस्तक यसअघि नै प्रकाशन गरी नाछिरिङ समुदायको बसोबास रहेको सोलुखुम्बु, खोटाङ, पाँचथर, तेह्रथुम, मोरङलगायतका जिल्लाहरूमा अध्यापन गराइसकेको छ । कक्षा तीनको पाठ्यपुस्तक पनि चाँडै आधिकारिक वितरण गरी अध्यापन गराइने साखाम केन्द्रले जनाएको छ ।

नेपालको संविधान ०७२ को धारा ३१ को उपधारा ५ ले गरेको मातृभाषा लिन पाउने अधिकारलाई आत्मसाथ गर्दै भाषिक पाठ्यपुस्तक प्रकाशन तथा अध्यापन गरेको साखाम केन्द्रले जनाएको छ ।

रिदुम खिम चाँडै बन्ने

साखाम केन्द्रले चाँडै रिदुम खिम (मुन्धुम घर) बन्ने दाबी गरेको छ । त्यसका लागि साखाम केन्द्रले तीव्र रूपमा अभियान अगाडि बढाएको छ । काठमाडौंको गोकर्णेश्वर उत्तरगयामा निर्माण हुन लागेको रिदुम खिमका लागि आवश्यक खर्च जुटाउँदै गरेको साखाम केन्द्रले जनाएको छ ।

रिदुम खिम निर्माणका लागि २१ लाख पुँजी जम्मा भइसकेको छ । ‘यो रकम जम्मा खातामा जम्मा भइसकेको रकम हो,’ साखाम केन्द्रका सक्रिय सदस्य तेज किराती (नाछिरिङ) ले भने, ‘यसबाहेक अभियान पनि चलिरहेको छ । खिमको डीपीआरसमेत तयार भइसकेको छ । अब चाँडै काम शुरू हुन्छ र चाँडै सम्पन्न गर्नेछौँ ।’ साखाम केन्द्रले रिदुम खिम निर्माणका लागि विदेशमा समेत अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *