कोप-२६ : यी मुख्य पाँच मुद्दामा नेपालले आफ्ना कुरा राख्न सक्छ

काठमाडौँ । १३ दिने विश्व जलवायु सम्मेलनमा भाग लिन प्रधान मन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत उडे । ६ सचिवसहित २० जनाको टोली बेलायत उडेको हाे । कोप-२६ सम्मेलनमा भाग लिन गएको हो प्रधान मन्त्री देउवा नेतृत्वको टोली ।

स्कटल्यान्डको राजधानी ग्लास्गोमा हुने सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजस्ता विश्वका चर्चित सरकार तथा राष्ट्रप्रमुखहरू सहभागी छन् । विश्वभरमा कूटनीतिज्ञ, वातावरणविद्, नेताहरूदेखि मिडिया तथा अभियानकर्मीहरूको बाक्लो भीड हुने कोप २६ को इतिहास सन् १९९५ बाट सुरु भएको हो । जर्मनीको शहर बर्लिनमा सन् १९९५ मार्च २८ देखि अप्रिल ७ सम्म कोप १ भएको थियो ।

यो पनि : प्रधान मन्त्री देउवाले आज कोप-२६ सम्मेलनलाई सम्बोधन गर्ने

त्यसैको २६औँ संस्करणको रूपमा स्कटलल्यान्डमा आइतबारबाट कोप २६ हुँदै छ । जलवायु क्षेत्रमा काम गर्ने संस्था क्लाइमेट नेक्सस् डट ओआरजीका अनुसार कोप २६ मा पाँच मुद्दाहरू छन् । त्यी मुद्दाहरू हुन्‚ समानुपातिक साझेदारी, जलवायु महत्त्वाकाङ्क्षा, जलवायु वित्त, विनाश र ध्वंस, कार्बन व्यापार । यी मुद्दामा नेपालले कसरी कुरा राख्न सक्छ भन्ने बारेमा संक्षेपमा बुँदागत चर्चा गरौँ :-

१. समानुपातिक साझेदारी
कोप २६ को विभिन्न विषयमा समानुपातिक साझेदारी एक बुँदा हो । यसले हरेक देशले विश्वको जलवायु परिवर्तनको समस्यामा जुध्न आवश्यक आर्थिक विश्व खर्चमा समानुपातिक योगदान चाहन्छ । नेपालले आफूले जलवायु परिवर्तनको क्षेत्रमा आफ्नो हिस्सा बराबरको योगदान गर्ने भनेर दह्रो उत्तरदायित्व कायम राख्न सक्छ ।

२. जलवायु महत्त्वाकाङ्क्षा
जलवायु महत्त्वाकाङ्क्षा कोप २६ को छलफल हुने मुद्दामा एक महत्त्वपूर्ण मुद्दा हो । पेरिस सम्झौतामा भएको विश्व तापमान घटाएर २ देखि साढे एक डिग्री सेल्सियसमा लाने एक खाले विश्व सहमति भएको थियो । यसमा दक्षिण एसियाली अभियानको प्राज्ञिक तथा अनुसन्धानात्मक नेतृत्व नेपालले गर्न सक्छ ।

३. जलवायु वित्त
जलवायु वित्तले मूलतः विश्वका युरोप तथा अमेरिकामा रहेका विश्वका धनी देशहरूले गरिब देशहरूलाई गर्नुपर्ने आर्थिक योगदान र लगानीका कुराहरू समेट्छ । नेपालले जलवायु परिवर्तनको मानवीय कारकका मुख्य देशहरूको योगदान नेपालमा जलवायु परिवर्तनको असर कम गर्न राष्ट्रिय आवाज उठाउन सक्छ ।

४. विनाश र ध्वंस
कोप २६ मा यो विषयमा समेत छलफल हुनेछ । नेपालले हिमाल, पहाडदेखि तराईसम्म प्रत्यक्ष देखिएका र विश्व महत्त्वका जलवायु परिवर्तनका मुद्दाहरूमा बलियो कुरा राख्न सक्छ । खास गरी पर्वतीय देशहरूको मुद्दाको नेतृत्व नेपालले लिन सक्छ ।

५. कार्बन व्यापार
कार्बन व्यापारमा नेपालले प्रत्यक्ष फाइदा लिनुपर्छ । यसको मुद्दा उठ्न आवश्यक छ । कार्बन व्यापारमा कार्बन उत्सर्जन गर्ने देशहरूको प्रत्यक्ष योगदान नेपालमा बढाउन नेपालले कोप २६ जस्तो विश्व मञ्चमा आवाज उठाउन सक्छ । नेपालले पाँच अर्बभन्दा बढीको कार्बन व्यापारको योग्यता गत वर्ष नै प्रस्तुत गरिसकेको छ ।

थप : कति महत्त्वपूर्ण छ कोप २६, के-के छन् एजेण्डा ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seventeen =