तीक्ष्ण मस्तिष्कका लागि स्तनपान

अमेरिकाका वैज्ञानिकले आफ्नो स्तनपानका धेरै फाइदाबारे पत्ता लगाएका छन् । आमाले राम्रोसँग स्तनपान गराएका बच्चाको सोच्ने र सम्झने क्षमता उच्च हुने अनुसन्धानबाट निष्कर्ष निस्किएको छ ।
अनुसन्धानमा संलग्न युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एञ्जल्सका वैज्ञानिकहरूले स्तनपान गराउँदा बच्चाको मस्तिष्क तीक्ष्ण हुनुका साथै आमाको मस्तिष्कमा समेत सकारात्मक प्रभाव पर्ने पत्ता लगाएका हुन् । स्तनपान गरेका शिशुको मस्तिष्क स्तनपान नगरेको शिशुको तुलनामा धेरै तीक्ष्ण भएको अनुसन्धानको निष्कर्ष छ ।
शरीरसँगै दिमागमा पनि सकारात्मक प्रभाव
अनुसन्धानकर्तामध्येका एक वैज्ञानिक मोलीफक्सका अनुसार, यसअघि आमाको दूधले बच्चालाई लामो समयसम्म स्वस्थ राख्ने पत्ता लागेको थियो‚ तर अहिलेको अध्ययनले स्तनपान गराउनाले आमाको स्वास्थ्यमा समेत फाइदा पुग्ने पत्ता लागेको छ । सामान्यतया ५० वर्षको उमेर कटेपछि महिलाको सोच्ने र सम्झने क्षमता घट्दै जान्छ । तर स्तनपान गराउने महिलामा भने यो समस्या छिटै नआउने देखिएको छ ।
उमेर बढ्दै गर्दा अल्जाइमर्स र डिमेन्सियाको जोखिम बढ्छ । अमेरिकामा दुई तिहाइ महिलाहरू यो समस्याबाट गुज्रिरहेका छन् । यो समस्या स्तनपान गराउने अधिकांश महिलामा भने नदेखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकहरू बताउँछन् ।
आमाको दूधले नवजात शिशुमा पुग्ने ४ फाइदा
पाचन प्रणाली राम्रो बनाउने
जन्मेको एक घण्टाभित्र बच्चालाई स्तनपान गराएमा कम उमेरमै हुने मृत्युको खतरा २० प्रतिशतले घट्छ ।
रोग सङ्क्रमणको खतरा घट्ने
स्तनपान गरेको बच्चालाई झाडापखालाको जोखिम कम हुन्छ । आन्द्रामा हुने सङ्क्रमणको जोखिम ६४ प्रतिशतसम्म घट्छ । ६ महिना अथवा सोभन्दा बढी समय स्तनपान गरेको बच्चामा खानाले हुने एलर्जीको जोखिम समेत न्यून हुने अनुसन्धानबाट खुलेको छ ।
श्वासप्रश्वास प्रणाली राम्रो बन्ने
स्तनपान गरेको बच्चामा श्वासप्रश्वाससँग सम्बन्धित जोखिम ७२ प्रतिशत कम हुन्छ । यसैगरी निमोनिया‚ मौसमी बिमारको जोखिम पनि न्यून हुने हुन्छ ।
बच्चाको आइक्यू धेरै हुने
आमाको दूधमा कोलेस्ट्रोल र अन्य फ्याक्ट थोरै मात्रामा रहेको हुन्छ । तंत्रिका तन्तुको राम्रोसँग विकास हुन्छ । यस्ता बच्चाको आइक्यू लेभल २ देखि ५ पोईन्टसम्म बढी हुन्छ । त्यस्तै स्तनपान गरेका बच्चाको मुटु पनि स्वस्थ हुन्छ ।
स्तनपान गराउने आमामा स्तन क्यान्सरको जोखिम घट्ने
स्तनपान गराउनाले आमामा हृदय रोगको खतरा १० प्रतिशत सम्म कम हुनुका साथै स्तन क्यान्सरको जोखिम २८ प्रतिशत र अर्थराइटिसको जोखिम समेत ५० प्रतिशत कम हुन्छ ।
एक वर्षभरि स्तनपान गराउँदा बच्चा यस्ता समस्याबाट जोगिन्छन् :
जन्मिनासाथ : आमाको पहिलो दूधले आन्द्रालाई रोग प्रतिरोधात्मक क्षमता र सुरक्षा प्रदान गर्छ ।
६ हप्तापछि : एन्टीबडी प्राप्त हुन्छ ।
३ महिनापछि : क्यालोरी बढ्दै जान्छ ।
६ महिनापछि : दूधमा ओमेगा एसिड बढ्दै जान्छ । यसले बच्चाको दिमाग विकास हुन्छ ।
१२ महिनापछि : क्यालोरी र ओमेगा एसिडको स्तर उच्च हुन्छ‚ जसले मांसपेशी र दिमागको विकासका सहायता पुग्छ ।
–दैनिक भास्करबाट








