अधिवक्ता श्रेष्ठ भन्छन्:

‘जबराजस्तो न्यायाधीश न्यायालयमा रहनुहुन्न’

काठमाडौँ । अधिवक्ता रमनकुमार श्रेष्ठले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । ‘उहाँले तत्काल अहिल्यै राजीनामा दिनुपर्छ,’ सोमबार रिपोटर्स क्लबमा बोल्दै श्रेष्ठले भने, ‘उहाँजस्तो मान्छे न्यायालयमा रहनु हुन्न ।’

प्रधान न्यायाधीशले राजनीतिक भागबन्डा खोजेको र न्यायालयमा रहेको व्यक्तिले त्यसरी राजनीतिक भागबन्डा खोज्न नमिल्ने उल्लेख गर्दै अधिवक्ता श्रेष्ठले भने, ‘उहाँलाई मन्त्रीमा भाग चाहियो । राजदूतमा भाग चाहियो । संवैधानिक नियुक्तिहरूमा भाग चाहियो । अनि यस्तो कहीँ हुन्छ ? यस्ता व्यक्ति न्यायालयमा रह्यो भने के हुन्छ ? तपाईंहरू आफैँ भन्नुस् ।’

प्रधान न्यायाधीशले एउटा राजनीतिक दलको नेतृत्वले गर्नुपर्ने काम गरिरहेको बताए । भने— ‘उहाँले त पूरे एउटा राजनीतिक दलको नेतृत्वले गर्नुपर्ने काम गरिरहनुभएको छ । राजनीतिक भाग खोज्नु भनेको राजनीतिक नेतृत्वले गर्ने र खोज्ने काम हो । उहाँ त न्यायलयको नेतृत्व पो त । यसरी कहाँ मिल्छ ?’

प्रधान न्यायाधीश जबरा मन्त्रिपरिषद्‌मा भाग खोजेको, पेसी चढाएर निरन्तर सुनुवाइ नगरेको, निष्कलङ्कित न्यायलय बनाउने विषयमा पहल नगरेकोलगायतका विषयमा आलोचित हुँदै आएका छन् । उनको नेपाल बार एशोसिएशनले समेत राजीनामा माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *