बारले माग्यो प्रधान न्यायाधीशको राजीनामा

काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेको छ । सोमबार बसेको बारको बैठकले प्रधान न्यायाधीशको राजीनामा माग्ने निष्कर्ष निकालेको बारका एक पदाधिकारीले जानकारी दिए ।

न्यायपालिका सुधारका लागि प्रधान न्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको हाे । ती पदाधिकारीले भने, ‘आजको बैठकले राजीनामा माग्नेबारे पनि छलफल गर्‍याे । यदि उहाँ (प्रधान न्यायाधीश जबरा) ले राजीनामा दिँदा सिङ्गो न्यायपालिका राम्रो हुन्छ भने उहाँले दिनैपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ ।’

बारले आफ्नो एजेण्डा प्रधान न्यायाधीशको राजीनामा नभएको तर, न्यायपालिकाको सुधारका निम्ति कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै राजीनामा माग गरेको हो । अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘हामीले अहिले उहाँले निकास दिनुपर्छ भनेका हौँ । न्यायपालिकाभित्रै मिलाउन सक्नुभएन । उहाँको काम कारबाहीमा अरु सहकर्मीहरू नै असन्तुष्ट बने । यसले त उहाँबाट नेतृत्व हुनसक्ने देखिएन । त्यसैले निकास दिनुपर्छ भनेका हौँ । यति भनिसकेपछि पनि निकास के हो ? निकास के हो ? भन्नै पर्दैन । स्पष्ट छ । उहाँले मार्गप्रशस्त गर्नुपर्छ ।’

बारको बैठक भोलि पनि बस्नेछ । उक्त बैठकपछि भोलि नै प्रधान न्यायाधीश जबरालाई भेट्ने र राजीनामा माग गर्ने समय तय भएको ती पदाधिकारीले बताए । प्रधान न्यायाधीश जबरालाई मन्त्रिपरिषद्मा भाग खोजेको, तोकिएको पेसीमा निरन्तर सुनुवाइ नगरेकोलगायतका आरोपहरू लाग्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *