सर्वोच्चमा न्यायाधीशहरूको ‘विद्रोह’, मुद्दाको सुनुवाइ रोकियो

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूले बेन्च बहिष्कार गरेपछि सबै मुद्दाहरूको सुनुवाइ रोकिएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा विभिन्न विवादमा मुछिएपछि न्यायाधीशहरूले बेन्च बहिष्कार गरेका हुन् । यसपछि सबै मुद्दाको सुनुवाइ रोकिएको हो ।

अहिले सबै न्यायाधीशहरू बेन्च छोडेर बेग्लै बैठकमा सहभागी भएको सर्वोच्च स्रोतले बतायो । स्रोतकाअनुसार सर्वोच्चमा बढेको सरगर्मीका कारण न्यायाधीशहरूले बेन्च छोडेका हुन् । स्रोतले भन्यो, ‘अहिले सबै न्यायाधीशज्यूहरू अर्कै बैठकमा हुनुहुन्छ । बेच्नमा हुनुहुन्न ।’

सोमबार (आज) प्रधान न्यायाधीश जबराले आफूबाहकेको ७ इजलास तोकेका थिए । प्रधान न्यायाधीश जबराले ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर, कोही पनि न्यायाधीश इजलासमा सहभागी छैनन् । उनीहरू बेग्लै बैठकमा छन् ।

प्रधान न्यायाधीश जबराको विपक्षी कित्तामा उभिएका १४ न्यायाधीशहरूले आइतबार नै इजलास बहिस्कार गरेका थिए । उक्त निर्णय आज पनि निरन्तर राखेको एक न्यायाधीशले बताए । उनीहरूले प्रधान न्यायाधीश जबराले बोलाएको आजको बैठकमा सहभागी नहुने निर्णय गरिसकेका छन् । फुलकोर्ट बस्ने र नबस्ने भन्नेबारे अहिले पनि पक्का भइसकेको छैन । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, ‘केहीबेरपछि थाहा हुन्छ । ४ बजेसम्म बस्नसक्छ ।’

१ बजे बस्नेगरी बोलाइएको फुलकोर्टमा केही न्यायाधीशरू सहभागीका लागि सर्वोच्च आइपुगेका छन् भने केही न्यायाधीशहरूको छुट्टै बैठक चलिरहेको छ ।

पछिल्लो समय प्रधान न्यायाधीश जबराले न्यायिक मर्यादाविपरीत काम गरेको भन्दै चर्को आलोचना भइरहेको छ । यसपछि बार एशोसिएशन नेपालले पनि प्रधान न्यायाधीश जबराप्रति असन्तुष्टि जनाउँदै आएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालय सुधारको लागि आफूहरूले कुनै कसर बाँकी नराख्ने बताइसकेका छन् । उनले भनेका छन्, ‘न्यायलय सुध्रिन्छ भने प्रधान न्यायाधीशज्यूको राजीनामा पनि माग्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *