आज देशभर एमालेको वडा अधिवेशन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभरका ६ हजार ७४५ वडामा एकसाथ अधिवेशन गर्दैछ । स्थायी कमिटीको बिहीबार र शुक्रबारको बैठकले आज हुने वडा अधिवेशनबाट सकेसम्म सर्वसम्मत र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न मातहतका सम्बन्धित कमिटीलाई निर्देशन दिएको थियाे ।

एमाले अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट देशभरका सबै वडामा एकसाथ अधिवेशन उद्घाटन गर्नेछन् । वडा अधिवेशनका लागि सबै जिल्ला कमिटीका बैठकले प्रतिनिधि खटाइसकेका छन् । कात्तिक २ देखि ४ गतेसम्म बसेका जिल्ला कमिटीका बैठकले वडा अधिवेशनमा प्रतिनिधि खटाएका हुन् । ६ हजार ७४५ वडामा शनिबार हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

वडा, गाउँ र नगरमा अधिवेशन गरेर कांग्रेसले आफ्नो सङ्गठन चलायमान बनाएसँगै एमालेले पनि अधिवेशन गर्न लागेको हो । एमालेले मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा दसौँ महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसअगाडि वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न गरिने छ ।

एमाले विधानअनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकाय हो । त्यसभन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वडा कमिटीबाट मात्र हुन्छ । वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुनेछन् । कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । वडा अधिवेशनबाट विधान अधिवेशनबाट पारित विधान कार्यान्वयनमा आउने भएको छ ।

चितवनमा हुने दसौँ महाधिवेशनअघि एमालेले स्थानीय तहमा नेतृत्व चयन गरेर आफूलाई चुस्त दुरुस्त रहेको सन्देश दिन खोजेको छ । चितवनबाट एमालेले पाँच वर्षका लागि केन्द्रीय नेतृत्व चयन गर्नेछ । नयाँ विधानअनुसार एक अध्यक्ष एक वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित २२५ केन्द्रीय सदस्यहरूको चयन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *