बढीपहिरो अपडेट : मृत्यु हुने १०१ पुगे, ४१ बेपत्ता

काठमाडौँ । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश-१ मा ६०, बाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई गरी जम्मा १०१ जनाको मृत्यु भएको हो ।

प्रहरीले दिएको विवरणअनुसार प्रदेश–१ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ । बाढीपहिरोमा परी प्रदेश–१ मा १३, प्रदेश–२ मा एक, लुम्बिनीमा तीन, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

बाढीका कारण जम्मा दुई हजार २३२ घर डुबानमा परेका छन् । बाढी पहिरोले ४९ घर, आठ गोठ, छ वटा पुल र तीनवटा सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको छ । अहिलेसम्म १३९ पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट एक हजार १७७ परिवार विस्थापित भएका छन् ।

साथै बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा सार्ने र पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ । विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य पनि जारी रहेको जनाइएको छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *