उपसभामुख जसपाको भागमा, चयन प्रक्रिया चाँडै थालिने

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख सत्तासाझेदारी दल जनता समाजवादी पार्टी (जसपा) लाई दिने सत्ता गठबन्धनमा समझदारी बनेको छ । ०७६ माघ ६ गते शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएयता उपसभामुख पद रिक्त छ ।

सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टी (जसपा) बीच छिट्टै उपसभामुख चयन गर्ने समझदारीसमेत बनेको जसपाका एक नेताले बताए । उनकाअनुसार संविधानमा भएको सभामुख र उपसभामुख छुट्टाछुट्टै दलको हुनुपर्ने प्रावधानअनुसार नै उपसभामुख आफ्नो दलले पाएको बताए । ‘संवैधानिक व्यवस्थाअनुसार नै हामीले पाएका हौँ,’ ती नेताले भने, ‘यसको प्रक्रियासमेत चाँडै प्रारम्भ हुन्छ ।’

अहिले सभामुख अर्को सत्तासाझेदारी दल नेकपा (माओवादी केन्द्र) ले लिएको छ । ती नेताकाअनुसार मन्त्रालयीय भागबन्डा गर्दैताका यसको टुङ्गो लागिसकेको थियो । ४/४ मन्त्रालय मात्रै पाएपछि असन्तुष्ट बनेका जसपा र एकीकृत समाजवादीमध्ये एकीकृत समाजवादीलाई बागमती प्रदेश र प्रदेश नं. को नेतृत्व सुम्पिने सहमति बनेको थियो । त्यसमा उपसभामुख जसपालाई दिने समझदारी बनेको हो । ‘सहमति जुटेपछि अघि बढिएको हो,’ ती नेताले भनेका छन् ।

गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले उपसभामुख पनि नलिने बताइसकेको छ । उसले बाहिरै बसेर सरकारलाई समर्थन गर्ने बताएको छ । जनमोर्चाबाहेकका दलहरूले दामासाही राजनीतिक तथा संवैधानिक भागबन्डा गरेका हुन् । यसो हुँदा उपसभामुख जसपाको भागमा परेको हो ।

यसअघि उपसभामुखको दाबी एकीकृत समाजवादीले गरेको थियो । पार्टीमा सरलाकुमारी यादवलाई उपसभामुख बनाउनेबारेमा छलफलसमेत भएको थियो । तर, भागबन्डामा उपसभामुख जसपाको भागमा परेको हो ।

प्रतिनिधि सभाको अर्काे बैठक कात्तिक ९ गते बस्दैछ । नेताहरूले बताएझैँ उपसभामुखको विषयमा सहमति जुटिसकेको र चाँडै नै चयन प्रक्रिया थालिने हो भने ९ गतेकै बैठकमा यसले प्रवेश पाउनेछ । सर्वोच्च अदालतले ०७७ असार १४ गते ‘उपसभामुख नियुक्त हुन किन नसकेको’ भन्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

त्यसयता प्रतिनिधि सभा २ पटक विघटन भएपछि यो विषयले प्रवेश नै पाउन सकेको थिएन । प्रतिनिधि सभा पुनःस्थापना भएर देउवा नेतृत्वमा नयाँ सरकार गठन भइसकेपछि यो विषयले प्राथमिकता पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *