संवैधानिक परिषद्मा एकीकृत समाजवादीले खोज्यो हिस्सा, सरला बन्लिन् उपसभामुख ?

सरकारमा सहभागी कहिले हुन्छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संवैधानिक परिषद्मा समान प्रतिनिधित्व खोजेको छ । यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग अनौपचारिक छलफलसमेत भइसकेको र सकारात्मक प्रतिक्रिया पाएको नेताहरुले दाबी गरेका छन् । ‘स्वाभाविक रुपमा हामी सरकारमा जाने भइसकेपछि संवैधानिक परिषद्मासमेत समान प्रतिनिधित्व हुनुपर्छ भनेका हौँ,’ नेता मेटमणि चौधरीले मकालुखबरसँग भने, ‘यो कुनै नौलो कुरै रहेन नि ।’

उपसभामुख बन्ने सरलाजी नै हो ।

आफ्नो पार्टीले वैद्यता पाएलगत्तै एकीकृत समाजवादीले संवैधानिक परिषद्मा आफ्नो हिस्सा खोजेको हो ।

सरकार र संवैधानिक परिषद् सबैतिर शक्ति सन्तुलन हुनेगरी आफूहरु अगाडि बढ्ने सहमति यसअघि नै भएको नेताहरुको भनाइ छ । ‘सरकारमा सहभागी भइसकेपछि शक्ति सन्तुलन मिलाउनैपर्‍यो,’ एक नेताले भने, ‘त्यसका लागि हामीले उपसभामुख पदको दाबी गरेका छौँ ।’ उपसभामुख संवैधानिक परिषद् सदस्य पनि हुने भएकाले एकीकृत समाजवादीले उपसभामुखको दाबी गरेको ती नेताको भनाइ छ ।

नेतृ सरलाकुमारी यादव पनि उही दोहोर्‍याउँछिन । भन्छिन्— ‘सत्तारुढ गठबन्धनमा यसअघि नै सबै हिसाबले समान रुपले अगाडि बढ्ने मौखिक सहमति भएको थियो । सोहीअनुरूप हामी अगाडि बढेका हौँ ।’

सरलाको सम्भावना ?

शुरुमा उपसभामुखमा पुष्पाकुमारी कायस्थको चर्चा थियो । तर, उनका पतिलाई योजना आयोगको सदस्यमा सिफारिस गरिएपछि सरलाको सम्भावना बढेको श्रोत बताउँछ । श्रोतले भन्यो, ‘त्यसो भएपछि उहाँ (सरला) को सम्भावना बढेको हो । यो पद हाम्रो दलले पाउने त पक्कै नै हो । त्यसपछि बन्ने भनेको सायद सरलाजी नै हो ।’

यसका लागि पार्टीमा छलफलसमेत भएको स्वयम् सरला बताउँछिन् । त्यसो त सभामुख र उपसभामुख एउटै लिङ्गको हुन नहुने संवैधानिक अड्चन छ । त्यसो हुँदा फरक लिङ्ग पनि हुने, महिला र मधेशको प्रतिनिधित्व पनि हुने र दलगत सन्तुलन पनि मिल्ने हुनाले पनि सरलाको सम्भावना बढेको हो । ‘पार्टीमा छलफल भइरहेको छ,’ सरलाले भनिन्, ‘त्यसपछि देउवाजी, प्रचण्डजीलगायतसँग कुराकानीसमेत हाम्रो अध्यक्षज्यू (माधवकुमार नेपाल)ले गर्नुभएको छ । प्रतिक्रिया सकारात्मक छ ।’

उपसभामुखको रुपमा पार्टीबाट कसलाई अगाडि बढाउनुहुन्छ ? भन्ने मकालुखबरको जिज्ञासामा सरलाको जवाफ थियो, ‘त्यही विषयमा पार्टीमा छलफल भइरहेको छ । यसलाई नै अगाडि बढाउने भन्ने निष्कर्ष निस्किसकेको छैन ।’ यद्यपि अध्यक्षलगायतका नेताहरुले आफूलाई ‘बढ्नुस्’ भनेर भनेको सरला बताउँछिन् । उसोभए तपाईं बन्दै हुनुहुन्छ ? भन्ने प्रश्नमा सरला भन्छिन्, ‘सायदै ।’

संवैधानिक परिषद्मा प्रधानमन्त्री देउवासँगै प्रतिपक्षी दलको नेताको हैसियतमा केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना छन् । त्यस्तै सभामुख अग्नि सापकोटाले माओवादीको प्रतिनिधित्व गर्छन् ।

१४ गतेसम्ममा सरकारमा गइसक्ने

आगामी १४ गतेसम्ममा एकीकृत समाजवादी सरकारमा गइसक्ने भएको छ । नेतृ निरुदेवी जैरू भन्छिन्, ‘प्रमाणपत्र हात परिसक्यो । वैद्यता पाइसक्यौँ । अब त सरकारमा जाने नै हो । केही दिनभित्र जान्छौँ ।’

सरलाकीअनुसार भने एकीकृत समाजवादी आउँदो १४ गतेभित्रमा सरकारमा सामेल भइसक्नेछ । ‘१४ गतेभित्रमा सरकारमा गइसक्छौँ । त्यसपछि थप छलफल गर्दै संवैधानिक परिषद्तिर आउँछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *