महिलाको चरित्र हत्या गरेको आरोपमा ४ यूट्यूबर पक्राउ

काठमाडौँ । यूट्यूब च्यानलमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले चार जना यूट्यूबरलाई पक्राउ गरेको छ ।
बुधबार नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ‘दैनिक खबर’ युट्युब च्यानलका सञ्चालक दाङको तुलसीपुर उपमहानगरपालिका-१७ घर भई काठमाडौं बस्ने २१ वर्षीय प्रदीप भण्डारी, ‘हरेक पलको खबर’ यूट्यूब च्यानलका सञ्चालक नुवाकोटको सूर्यगढी गाउँपालिका-२ घर भई काठमाडौँ नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, ‘सरईचुली मिडिया’ यूट्यूब च्यानलका सञ्चालक मोरङको बेलबारी नगरपालिका-९ घर भई काठमाडौँ पेप्सीकोला बस्ने ३५ वर्षीया पिंकला कार्की र ‘मोर्डन अनलाइन टिभी’ युट्युब च्यानलका सञ्चालक दोलखाको मैलुङ गाउँपालिका-४ घर भई काठमाडौँ गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङलाई पक्राउ गरेको हो ।
महिलाको इज्जत प्रतिष्ठामा आँच आउनेगरी चरित्र हत्या गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।









