सूचनामा सर्वव्यापी पहुँचको अन्तरराष्ट्रिय दिवस, रुदाने र थाहा अभियानको सम्झना

काठमाडौँ । सेप्टेम्बर २८ तारिख अर्थात्, सूचनामा सर्वव्यापी पहुँचको अन्तरराष्ट्रिय दिवस । यो दिवसको कुरा सन् २०१५ को संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोको घोषणासँग जोडिन्छ । यो दिवस मनाउने घोषणा २०१५ को नोभेम्बर १७ मा भएको हो ।

नेपालमा सूचनाको पहुँचको विषयमा सबैभन्दा पहिलोपटक र सबैभन्दा मुखर अनि लोकप्रिय रुपमा आवाज उठाउने व्यक्ति हुन् रुपचन्द्र विष्ट ।

विसं १९९० पुस २६ गते मकवानपुरको दामनमा जन्मेका रुपचन्द्र २०५६ असार ७ गते संसारबाट बिदा भए । उनको जीवनको आधा उमेर ‘थाहा’ अभियानमा बित्यो । उनले जनता ‘थाहा नपाएर पछि परेका’ भन्ने गर्थे । थाहा पाएर मात्रै मान्छेले अगाडि बढ्न सक्ने ल्याकत राख्ने उनको तर्क थियो । उनी आफूलाई रुदाने भनेर चिनाउँथे । मानिसले थाहा पाउनुपर्छ भन्ने रुदानेको थाहा अभियान नेपालको गाउँ-गाउँ‚ बस्ति-बस्तिसम्म पुगेको थियो ।

दुई पटक राष्ट्रिय पञ्चायतमा विजयी भएका उनी पर्चा बेचेरै चुनाव जित्ने नेता पनि हुन् । रुपचन्द्र विष्ट स्मरण समितिका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारी पर्चा बेचेर चुनाव जित्ने विष्ट विश्वकै पहिलो नेता भएको दाबी गर्छन् । विष्टसँग सुरुमा विद्यार्थी र पछि सहकर्मीको रुपमा बिताएका बिडारी, विष्टले एउटा पर्चा लेख्न हप्तौँ र महिनौँ लगाउने बताउँछन् ।

२०४७ सालको नेपालको संविधानले सूचनाको हकलाई मौलिक हकमा राख्नुमा रुपचन्द्रको थाहा अभियानकै दबाबको पनि धेरथोर हात अवश्य छ । यो नेपालको मात्रै नभएर दक्षिण एसियाकै पहिलो प्रयोग थियो । २०४७ सालको संविधानको धारा १६ मा सूचनाको मौलिक हकको प्रावधान राखिएको थियो । २०६३ सालको अन्तरिम संविधानको धारा २७ र २०७२ को संविधानको पनि धारा २७ मै यस्तो व्यवस्था निरन्तर गरिएको छ । यसलाई एक कोणमा रुदानेकै योगदान मान्न सकिन्छ ।

रुदानेको थाहा अभियान हेटौँडा क्षेत्रमा मात्र नभएर देशभर लोकप्रिय छ । थाहा नाममा विभिन्न ब्रान्डहरू बनेका छन् । मकवानपुरको एक पालिकाको नाम नै ‘थाहा’ राखिएको छ । रुदानेको बारेमा चलचित्र ‘रुदाने’समेत बनेको छ । प्रमुख कार्यकारी निर्माता जागृत रायमाझीका अनुसार चलचित्रमा रुदानेलाई ‘विद्रोहको नेपाली नाम’ भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *