थप उपचारका लागि नेता पुन थाइल्यान्ड जाँदै

काठमाडौँ । लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि बुधबार थाइल्यान्ड लगिने भएको छ ।
पछिल्ला केही दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो । नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउनेजस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो । कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनलाई थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए ।
नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्डलगायतका नेताहरुको सल्लाहपछि थप उपचारका लागि उनलाई थाइल्यान्डको ब्रुमुङगार्ड अस्पताल लैजाने तयारी गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशाणुगत रुपमा सङ्क्रमण भएको कमलपित्तले दुःख दिने गरेको छ ।









