५४ जिल्लामा कांग्रेसको पालिका अधिवेशन

काठमाडौँ । कांग्रेसले शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन सुरु गरेको छ । वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने तयारी नपुगेका कारण क्रमशः गर्ने गरी जिल्ला निर्वाचन अधिकृतले नै मिति तोकेका छन् । कतिपय ठाउँमा भने मतदाता नामावली नै तयार नभइसकेका कारण अधिवेशन हुन सकेको छैन ।

केन्द्रीय निर्वाचन समितिले शनिबार ५४ जिल्लामा गाउँपालिका र नगरपालिकास्तरीय कार्यसमितिको अधिवेशन सुरु भएको जनाएको छ । समितिका सदस्य एगराज पोखरेलले कतिपय ठाउँमा सहमतिबाटै नेतृत्व चयन भएको र कतिपय ठाउँमा निर्वाचन प्रक्रिया अघि बढेको जानकारी दिए ।

‘कहाँ-कहाँ भइसक्यो भन्ने यकीन तथ्याङ्क तयार भइसकेको छैन । तर, शनिबार ५४ जिल्लामा एकैसाथ पालिका तहको अधिवेशन सुरु भएको छ । आजै नसकिए पनि एक-दुई दिनभित्रै ती ठाउँमा अधिवेशन भइसक्छ,’ पोखरेलले भने ।

शनिबार काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लामा भने अधिवेशन हुन सकेन । काठमाडौँमा कतिपय वडामा निर्वाचनको अन्तिम परिणाम नै आइनसकेका कारण पालिका तहको अधिवेशन १६ असोजका लागि तोकिएको छ ।

सिन्धुपाल्चोकमा भने अर्को मिति नतोकिएसम्मका लागि स्थगित छ । केन्द्रीय निर्वाचन समितिले शनिबार अधिवेशन हुन नसकेका ठाउँमा सम्बन्धित स्थानीय तहमा खटिएका निर्वाचन अधिकृतलाई नै पुनः मिति तोक्ने र अधिवेशन गराउने अधिकार दिएको छ ।

‘निर्वाचन अधिकृतहरूले परिवेशअनुसार सहमतिबाट मिति तोकेर केन्द्रीय कार्यतालिकामा प्रभाव नपर्नेगरी अधिवेशन गराउँछन् । हामीले यहाँबाट तोकिएको मिति एउटा फ्रेम एरियामात्रै हो,’ निर्वाचन समितिका सदस्य पोखरेलले भने ।

उनका अनुसार पहाड र तराईका जिल्लामा भने दशैँअघिसम्म पालिका अधिवेशन गराए हुने अवस्था छ । तर, हिमाली जिल्लामा भने १२ गते प्रदेशसभा क्षेत्रस्तरीय अधिवेशन भएकाले त्यो मितिभन्दा अगाडि नै अधिवेशन गरिसक्नुपर्ने दबाब छ । कांग्रेसले हिमाली जिल्लामा दशैँ अगावै जिल्ला तहसम्मकै अधिवेशन गरिसक्ने भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *