दलितलाई कोठा भाडामा नदिएको मुद्दामा घरबेटी प्रधान १ लाख १५ हजार धरौटीमा रिहा

काठमाडौँ । सञ्चारकर्मी रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी घरबेटी सरस्वती प्रधान धरौटीमा रिहा भएकी छन् ।  काठमाडौँ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले प्रधानलाई १ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको र धरौटी बुझाएर प्रधान रिहा भएकी काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटानीले जानकारी दिए ।

बुधबार थुनछेकको बहस सकेर अदालतले निर्णय सुनाएको हो । गत असार १ गते कोठा खोज्न गएकी रुपाले आफू दलित समुदायको भएको भनेपछि घरभेटी प्रधानले कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन् ।

त्यसपछि सुनारले प्रहरीमा उजुरी गरेकी थिइन् । प्रहरीले प्रधानलाई पक्राउ गरेपनि उनी केही दिनमै थुनामुक्त भएकी थिइन् । रुपाले घरबेटी प्रधानसहित तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई समेत विपक्षी बनाएर रिट दायर गरेपछि

सर्वोच्चले  निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रधानविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *