४० वर्षमाथिका सबैको पिसाब परीक्षण गरिने, मिर्गौला प्रत्यारोपण सहज बनाउन निर्देशन

काठमाडौँ । सरकारले ४० वर्षमाथिका सबै नागरिकको पिसाब परीक्षण गर्ने भएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बुधबार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले नागरिकको मिर्गौलाको अवस्था कस्तो छ ? भन्ने जानकारी लिन ४० वर्ष नाघेका सबै नागरिकको पिसाब जाँच गर्ने योजना रहेको बताएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले ४० वर्षमाथिका नागरिकहरूको पिसाब जाँच गर्ने योजना रहेको जानकारी गराएको तर कहिलेदेखि सुरु गर्ने भन्ने विस्तृत जानकारी भने नआएको समिति सभापति जयपुरी घर्तीले बताइन् ।

मिर्गौला प्रत्यारोपणलाई सहज बनाउन सरकारलाई निर्देशन
संसदको शिक्षा तथा स्वास्थ्य समितिले मिर्गौला प्रत्यारोपणलाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिति बैठकले स्वास्थ्य मन्त्रालयलाई ‘मिर्गौला प्रत्यारोपण सेवालाई सहज र छिटो छरितो हुने व्यवस्था गर्न’ निर्देशन दिएको हो ।

बैठकले ‘डायलासिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न, मिर्गौला फेल हुनुको कारण र मिर्गौलासम्बन्धी रोगबाट बच्ने उपायहरूका बारेमा देशैभरि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

नेपालमा मिर्गौलाविद् (नेफ्रोलिजिस्ट)को दरबन्दी कम भएको भन्दै समितिले समयसापेक्ष नेफ्रोलिजिस्टको संख्या बढाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

सरकारी अस्पतालहरूमा डायलासिस सेवालाई प्रभावकारी बनाउनुपर्ने, मिर्गौलासम्बन्धी विशेष अस्पतालको व्यवस्थापन गर्नुपर्ने, विद्यालय तहको पाठ्यक्रमा समयसापेक्ष स्वास्थ्यसम्बन्धी जानकारी राख्नुपर्ने पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *