एक्लाएक्लै काम गर्दागर्दै जन्मिएको एक एक पाइला

काठमाडौँ । दुःख परेका बेला कसैले सहयोग गरिदेओस् भन्ने चाहना धेरैलाई हुन्छ, केहीलाई भने अरूलाई दुःख परेका बेला सहयोग गरौँ गरौँ भन्ने पनि लाग्छ । अनि केहीले चाहिँ आफूसँग भएको कुरामा थपथाप, खोजखाज र जोरजम्मा गरेर पनि सहयोग गर्छन् ।

यस्तै आपतका बेला सकेको सहयोग गरौँ भन्नेहरूले खोलेको संस्था हो- एक एक पाइला । यो २०७२ सालको भूकम्पपछि खुलेको हो । खासगरी डाक्टरहरूले मिलेर खोलेको यो संस्थामा सहयोग भने विभिन्न क्षेत्रका व्यक्तिहरूको छ ।

जागिरबाहेक पनि केही गरौँ
२०७२ सालको भूकम्पबाट अति प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग गर्ने धेरै थिए । त्यस्तै समूहमा थिए काठमाडौँका आँखा रोग विशेषज्ञ डा.  सुमन थापा, कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसी लगायत पनि । एक्लाएक्लै विभिन्न ठाउँमा सहयोग गरिसकेपछि आफैँ मिलेर पनि केही गरौँ न भन्ने लागेपछि एक एक पाइला जन्मिएको डा. के सी बताउँछन् ।

‘हामी सबैलाई त्यसबेला जे जति भएपनि सहयोग गर्न सकेकोमा खुशी लागेको थियो, हामी त्यसबाट हौसियौँ, त्यही भएर अब मिलेर केही गरौँ न त भनेर संस्थाको कल्पना गर्‍यौँ‚’ उनले भने । संस्थाको नाम ‘एक एक पाइला’ चाहिँ सदस्य आशिष भट्टराईले राखेका हुन् ।  एक एक पाइला गर्दै अगाडि बढ्ने हो भन्ने अवधारणामा संस्थाको नाम एक एक पाइला छानिएको हो ।

संस्था खुलेपछि यसलाई कसरी चलाउने भन्ने लगायतका धेरै विषयमा छलफल भयो । उनीहरूले केही धनाढ्य र मनकारीहरूलाई यसबारेमा बताउने निधो गरे । ‘हामीले १०० जनाजति त्यस्ता व्यक्ति छान्यौँ‚ जसलाई हामीले यो आइडिया भन्यौँ र कन्भिन्स गरायौँ’, एक एक पाइलाका अध्यक्षसमेत रहेका डा. थापाले भने‚ ‘तीमध्ये ७० जनाले हामीलाई रेस्पोन्स गर्नुभयो र ५० जनाभन्दा धेरैले त ५ लाखका दरले सहयोग नै गर्नुभयो ।’

के-के गरिरहेको छ ?
हाल ‘एक एक पाइला’ले काठमाडौँको थापाथलीमा सस्तो शुल्कमा विशेषज्ञ सेवा प्राप्त हुने क्लिनिक चलाइरहेको छ । काठमाडौँका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरहरूको सेवा यो क्लिनिकमा तीन गुणा कम शुल्कमा पाइने ‘एक एक पाइला’का उपाध्यक्षसमेत रहेका डा. के सीले जानकारी दिए । यो क्लिनिकमा ३ सय रुपैयाँमा विशेषज्ञ डाक्टरको सेवा पाइन्छ ।

त्यहाँका कुनै पनि विशेषज्ञ डाक्टरले बिरामी जाँचेको शुल्क भने लिँदैनन् । उनीहरूले बिना पैसा बिरामी जाँच्ने गरेका छन् । त्यो शुल्क क्लिनिक सञ्चालन र क्लिनिकमा राखिएका तीनजना फूल टाइम डाक्टर, नर्सहरू र अन्य कर्मचारीका लागि खर्च हुने गरेको छ । क्लिनिकमा तीन जना डाक्टर‚ केही नर्स र अन्य कर्मचारी तलबी छन् भने बाँकी सबै स्वयंसेवी रहेको उनले बताए । क्लिनिकको सञ्चालन खर्च कटाएर बाँकी एक एक पाइलाको अक्षय कोषमा जान्छ । जसबाट कमजोर आर्थिक अवस्था भएका बिरामीलाई उपचार गर्न सहयोग गर्ने गरिएको छ ।

एक एक पाइला फाउन्डेशनले सिन्धुपाल्चोकको ठोकर्पा अस्पताल सञ्चालन गर्ने भएको छ । यससम्बन्धि सम्झौतापत्रमा हस्ताक्षार भइसकेको छ भने अस्पताल मंसिरबाट सञ्चालन गर्ने तयारी छ ।

यो पनि : ठोकर्पा अस्पताल एक एक पाइलाले सञ्चालन गर्ने

यस्तै जाजरकोटमा अर्को अस्पताल सञ्चालनकाे तयारी पनि भइरहेको छ । यसको समम्झौताका लागि भने केही समय लाग्ने अध्यक्ष डा. थापाले जानकारी दिए ।

स्वास्थ्य शिविर
एक एक पाइलाको समूहले देशका दुर्गम ठाउँमा विशेषज्ञ स्वास्थ्य शिविर चलाइरहेको छ । अहिलेसम्म १९ ठाउँमा यस्तो शिविर चलाइसकिएको डा केसीले बताए । जसलाई उनीहरू १९औँ पाइला भन्छन्‚ अर्थात् एक शिविरलाई एक पाइला ।

अहिलेसम्म जाजरकोट, माथिल्लो डोल्पा, कालिकोट, रुकुमजस्ता भौगोलिक रूपमा विकट क्षेत्रहरूमा समेत हेल्थ क्याम्प सञ्चालन गरिसकेको छ । डा. के सी भन्छन्, ‘हामी यस्ता ठाउँहरूमा समेत पुग्यौँ कि जहाँका मान्छेहरूले अस्पताल र चिकित्सकहरू कहिल्यै देख्नु नै भएको छैन । त्यहाँ गएर प्राथमिक उपचार, अल्ट्रासाउन्ड गर्दा धेरै रोगहरू फेला पर्‍यो । क्यान्सर, स्त्रीरोग पत्ता लाग्यो । हामीले सम्भव भएसम्मको शल्यक्रिया पनि गर्‍यौँ । सम्भव नभएको र हाम्रो सामग्रीले गर्न नमिल्ने शल्यक्रिया र उपचारका लागि बिरामीलाई अस्पतालमा रिफर गरिदियौँ ।’ शिविर पूर्णतया निशुल्क हुने डा. के सीले जानकारी दिए ।

संस्थाका अध्यक्ष डा. थापा सेवाभाव भएका व्यक्तिहरूको समूह नै ‘एक एक पाइला’ भएको बताउँछन् । भन्छन्, ‘भूकम्पको समयमा हामी त्यो ठाउँमा भएको भए कति पिडा हुन्थ्यो होला भन्ने लाग्यो । विदेशमा घुम्ने क्रममा सबै मान्छेहरू उस्तै आर्थिक हैसियतका देखिन्छन् । गुणस्तरीय जीवन बाँच्छन् । सबैको आर्थिक हैसियत उस्तैजस्तो देखिन्छ । तर नेपालमा हामीले बाहिर निस्किएर हेर्दा सबै अभावमा बाँचेका पाउँछौ । मानवताको हैसियतले पनि त्यस्ता व्यक्तिहरूलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो । झन् मेडिकल प्रोफेसनमा भएकाले त झन् धेरै सहयोग र सेवा दिन सकिन्छ । त्यसैले आफूले सक्ने सहयोग गर्न मन लाग्यो । भूकम्पको एक वर्षसम्म हामीले गाउँ गाउँमा पुगेर स्वास्थ्य शिविर गर्‍यौँ । औषधि डोनेसनबाट प्राप्त हुन्थ्यो ।’

आर्थिक भरथेग
उनीहरूले संस्था चलाउने योजना बनाए पनि त्यसलाई आर्थिक रूपमा कसरी अघि बढाउने भन्ने कुरा चुनौतीपूर्ण थियो‚ किनभने डाक्टरहरूले दिने केही हजार वा लाखले त्यो चल्ने थिएन । त्यही भएर उनीहरूले विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित र मनकारीहरूलाई यो योजना सुनाउने र कन्भिन्स गराउने योजना बनाए ।‘हामी सबैतिर चिनिएका र विश्वसनीय डाक्टर भएकाले पनि होला‚ धेरैले सोचेभन्दा राम्रो सहयोग गर्नुभयो‚ जसले हामीलाई आर्थिक भरथेगमात्र गरेन‚ अघि बढ्न पुरै हौसला पनि मिल्यो‚’ डा. थापाले भने । स्वास्थ्य शिविर चलाउने बेलामा पनि धेरैले सोचेभन्दा ठूलो सहयोग गरेको डा केसीले बताए । कतिपय अवस्थामा त यसपटका लागि खर्च उठिसकेकाले थप सहयोग रकम आवश्यक पर्दैन भनेर लिन बन्द गरेको अनुभव पनि रहेको उनले बताए ।

यो पनि : एक-एक पाइलामा आवद्ध डाक्टरले घरबाटै निशुल्क सेवा दिने

कोरोनाका बेलामा पनि उनीहरूले औषधि सहयोग गरे । ४४ जिल्लाका विभिन्न ठाउँमा औषधिसहितको किट बनाएर पठाएको र यसका लागि जिल्ला अस्पताल, पालिकाहरू लगायतसँग समन्वय गरेको एक एक पाइला क्लिनिकका प्रबन्धक   पाण्डेले बताए । भूकम्पपछि पनि ‘एक एक पाइला’ले निरन्तर सेवा भाव राखेर काम गर्दै गयो । स्पष्ट रूपमा आर्थिक स्तर कमजोर भएका विकट क्षेत्रमा स्वास्थ्य सेवा दिने उद्देश्य राखेको हुनाले बुझेका मान्छेहरू संस्थालाई सहयोग गर्न झन् चासो देखाउन थाले ।

सुमन भन्छन्, ‘हामीले हाम्रो उद्देश्य स्पष्ट रूपमा खुलाएर मेल पठायौँ । त्यसो गर्दा सय जनामा ७० जनाले रेसपोन्स गर्नुभयो । ५५ जनाले सहयोग नै गर्नुभयो । हामीलाई सहयोग गर्ने कति दाताहरूलाई त अहिलेलाई रकम पुगिसक्यो भनेर लिएकै छैनौँ । धेरैजनाले दान दिन तयार रहेको बताउनुभएको छ ।’

दुर्गम जिल्लाहरूमा एउटा हेल्थ क्याम्प गर्न २५ देखि ३० लाख रुपैयाँसम्म लाग्छ । त्यो रकम ‘एक एक पाइला’ले डोनेसन मार्फत आएको रकमबाट नै चलाउँछ । सुमन भन्छन्‚ ‘हेल्थ क्याम्पमा जाँदा चिकित्सक र विशेषज्ञको टोलीले एकदम न्यून रकम लिनुहुन्छ । यहाँ सेवा भाव बाहेक अरू केही छैन । त्यसमाथि हामी कुनै कुनै रूपमा आफैँ अरू संस्थामा काम गरेर पैसा कमाइरहेका हुन्छौँ । त्यसैले हामी विपन्न वर्गको लागि उठाएको पैसा दुरुपयोग गर्दैनौँ ।’

‘एक एक पाइला’ले अहिले भने हेल्थ क्याम्प गर्न नसकेको डा‍. के सीले जानकारी दिए । ‘कोरोना महामारी हट्दै गएपछि फेरि सुरु गर्नेछौँ ।’ कोरोना महामारी चलिरहेकै बेला पनि ‘एक एक पाइला’को कार्य ठप्प भने भएको छैन । महामारीमा अत्यावश्यक पर्ने औषधिहरू लिएर गाउँसम्म पुगेको बताउँछन् सुधांशु । उनले भने, ‘यस्तो समयमा अतिआवश्यक पर्ने औषधि र केही एन्टिबायोटिकहरूसमेत राखेर हामीले प्राइमरी मेडिसिन बक्स बनाएर बाँडेका थियौँ ।’

‘एक एक पाइला’ क्लिनिकमा थोरै शुल्क लिएर प्राइमरी स्वास्थ्य सेवा दिइरहेको छ भन्नेबारे धेरैलाई थाहा नै छैन । थाहा हुने बिरामी‚ जो जँचाउन आउँछन् उनीहरूले समेत विश्वास नै नगर्ने बताउँछन् अध्यक्ष डा‍‍. थापा । उनी भन्छन्, ‘त्यही स्वास्थ्य सेवालाई चर्को मूल्य तिरिरहेका बिरामीले हामीले थोरै शुल्क लिएर उपचार गर्छौँ भन्दा पत्याउनुहुन्न । उपचार सकेपछि राम्रोसँग उपचार त भयो भन्दै सोध्नुहुन्छ ।’

बिरामीबाट लिएको न्यूनतम शुल्क बिरामीकै उपचारका लागि खर्च गर्ने गरेको दाबी गर्छन् सुधांशु । अब आउने दिनहरूमा पनि स्वास्थ्य सेवा र विशेषज्ञको सेवालाई नेपालभरिका मान्छेमा पुर्‍याउने उद्देश्य ‘एक एक पाइला’ले राखेको छ । देशको विकट ठाउँको अस्पतालमा जनशक्ति परिचालन गर्ने उनीहरूलाई ‘एक एक पाइला’ले नै पारिश्रमिक दिने योजना बनाएको छ ।

आमाको सहयोग
डा. थापा थापाथलीकै स्थायी बासिन्दा हुन् । थापाथलीमा उनी जन्मिएको-हुर्किएको‚ बिहे गरेर दुलही भित्र्याएको अनि आफ्नो पनि सन्तान जन्मिएको घरमा अहिले एक एक पाइलाको क्लिनिक चलाइएको छ । यसका लागि एक एक पाइलालाई डा‌‍. थापाकी आमाले सहयोग गरेकी छन् ।

‘मुवाले १० वर्षसम्म एक रुपैयाँ भाडा दिन नपर्ने गरी घर कागज गरेरै दिस्यो‚’ थापा भन्छन्‚ ‘यसले त हामीलाई ठुलो सहयोग भयो ।’ स्वास्थ्य शिविर सञ्चालन गर्न जाँदा पनि नगद सहयोग गर्नुका साथै आफ्ना साथीहरूलाई पनि सहयोग सङ्कलन गरिदिने गरेको उनले सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *