पेलेरै जाने सभामुखको संकेत !

काठमाडौँ । गत भदौ २३ गतेदेखि शुरू भएको प्रतिनिधि सभाको नवौं अधिवेशनको बैठकहरूमा अहिलेसम्म कार्यसूचीअनुरूप छलफल हुन सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नाराबाजीका कारण छलफल हुन नसकेको हो ।

२३ गते तीन पटकसम्म प्रयास गरेपनि बस्न नसकेको बैठकमा एमाले सांसदहरूको नाराबाजीकै बीच ‘राजनीतिक दलसम्बन्धी अध्यादेश’ पेस भयो ।

तत्पश्चात् २५ गते बसेको बैठकमा सभामुख सापकोटा पेलेरै अघि बढे । उक्त बैठकमा समेत एमाले सांसदहरूले नाराबाजीलाई निरन्तरता दिए । यद्यपि सभामुख सापकोटा रोकिएनन् । फलस्वरूपः एमाले सांसदहरूको विरोधबीच नै अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिस्थापन बजेट’ प्रस्तुत गरे ।

यसपछि थप चिढिएको एमालेले २७ गते बसेको बैठक अवरुद्ध नगर्ने कुरै रहेन । संसदीय दलकै निर्णयअनुरूप नै एमाले सांसदहरूले बैठक अवरुद्ध गरे । २७ गते भने सभामुखले त्यति जोड गरेनन् । २३ र २५ गतेको दुईवटा बैठकमा पेलेरै अघि बढ्दा पनि एमाले नथाकेर २७ गतेको बैठकसमेत अवरुद्ध गरेपछि सभामुख सापकोटाले गतिरोध अन्त्यका लागि भन्दै सोमबार (आज) दिउँसा २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए । बैठकलाई एमालेले भने बहिष्कार गर्यो । एमालेबिनाको बैठकमा सहभागी अन्य दलका शीर्ष नेताहरुले सभामुख सापकोटालाई ‘एमालेलाई वार्तामा ल्याउनुस्’ भनेर सुझाव दिए ।

यसबीच प्रतिनिधि सभा बैठकको मिति २९ गते अर्थात् मंगलबार (भोलि) का लागि तय भएको छ । यता एमालेले भने भोलिको संसद् पनि अवरुद्ध गर्ने तयारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हाम्रो मागको सम्बोधन नभएसम्म संसद्को हाम्रो नाराबाजी र विरोध निरन्तर नै रहन्छ । भोलिको बैठकमा पनि हामी साबिककै जसरी प्रस्तुत हुन्छौँ ।’ संसद् सचिवालयले भने भोलिका लागि सम्भावित कार्यसूची तय गरिसकेको छ । सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक २०७८’ माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने र शोक प्रस्ताव प्रस्तुत हुने भनिएको छ ।

यसरी हेर्दा सभामुख सापकोटाले पेलेरै जाने नीति अख्तियार गरेको बुझ्न सकिन्छ ।

‘सभामुखले मार्गप्रशस्त गर्नुपर्छ’

एमालेले सभामुखले मार्गप्रशस्त गर्नुपर्ने बताएको छ । सचेतक भट्टराईले भने, ‘उहाँ संसद्को नेता हुनुहुन्छ । तर, उहाँले नै संसदीय मर्यादा र सर्वोच्चता तोड्दै हुनुहुन्छ । यो हाम्रो लागि सह्य हुँदैन । नीति, नियम र कानूनको उल्लङ्घन गर्ने जोकोही पनि पदमा रहिरहन मिल्दैन । हामीले भनेका छौँ उहाँले मार्गप्रशस्त गर्नुपर्छ ।’

आफूले सिफारिस गरेको १४ सांसदहरूलाई कारबाही नगरेको भन्दै एमाले सभामुख सापकोटासँग रुष्ट छ । सचेतक भट्टराई सभामुखसँग एमालेको दुई सर्त रहेको बताउँछन् । ‘उहाँले कि त १४ सांसदहरूलाई कारबाही गर्नुपर्छ,’ सचेतक भट्टराई भन्छन्, ‘कि त मार्गप्रशस्त गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *