एमाले भन्छ- सभामुखको घैँटोमा घाम नलागेसम्म संसद्को विरोध जारी

काठमाडौँ । संसद्को पछिल्लो अधिवेशन शुरु भएदेखि नै एमालेले विरोध पनि शुरु गरेको छ । आफूले कारबाही गरेका १४ जना सांसदलाई सांसदबाट हटाउनुपर्नेमा त्यसो नगरेर दल फुटाउने अवसर दिएको भन्दै एमाले सभामुख अग्निप्रसाद सापकोटासँग रुष्ट छ । एमाले सांसद सभामुखको कदमको विरोधमा नाराबाजी गर्दै संसद बैठकमा विरोध जनाइरहेको छ ।

खासगरी राजनीतिक दलसम्बन्धी अध्यादेश आएर एमाले विभाजन भएपछि थप चिढिएको विपक्षी दल एमालेलाई सरकार पक्षले पेलेरै अगाडि जाने नीति लिएको छ, जसको सुरूवात सत्तापक्षले शुक्रबारै गरिसकेको छ । यसअघिको बैठकमा पनि विरोधका बिच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी अध्यादेश पेस गरेका थिए ।

शुक्रबार दिउँसो १ बजेबाट शुरू भएको बैठकलाई सभामुख अग्निप्रसाद सापकोटाले एकचोटी १५ मिनेटका लागि स्थगित गरे । त्यसपछि पुनः बसेको बैठकमा पनि एमाले सांसदहरुको नाराबाजी नसिद्धिएपछि सभामुख सापकोटा पेलेरै अगाडि बढे ।

याे पनि : एमालेले नारा लगाइरह्यो, सभामुखले बैठक चलाइरहे

एमाले सांसदले आफ्ना चारजना सांसदलाई बुई चढाएर रोष्ट्रममा चढाउने र त्यहाँ राखिएको माइक तान्ने प्रयास गराएका थिए । जसका कारण संसद हलमै सांसद खोसाखोसको अवस्था देखियो । यद्यपि बाक्लो मर्यादापालकका बिच एमाले सांसदहरुले केही गर्न भने सकेनन् ।

‘सभामुखको घैँटोमा घाम नलागेसम्म हाम्रो विरोध जारी रहन्छ’
एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ्ग सभामुखले संसदीय मर्यादा विपरीत बैठक सञ्चालन गरेको बताउँछन् । ‘हाम्रो जायज मागलाई उहाँले सम्बोधन गर्नुभएन,’ नेम्वाङ्गले भने, ‘एमाले त फुटाउनुभो फुटाउनुभो हुँदा हुँदा अहिले त प्रतिपक्षीको जायज माग र विषयसमेत सुन्न छाड्नुभयो । यसले कहीँ पनि राम्रो गर्दैन । कसैलाई राम्रो गर्दैन । संसद् प्रतिपक्षको हो । हाम्रो संघर्ष अझै जारी रहन्छ ।’ शुक्रबार देखिएको संसद्को कामकारबाही निष्पक्ष नभएको नेम्वाङ्गको दाबी छ । ‘संसद्मा जे-जे देखियो,’ नेम्वाङ्गले भने, ‘त्यो फिटिक्कै निष्पक्ष भएन । त्यो व्यवस्थाअनुरूप भएन, त्यो प्रणालीअनुरूप भएन । यसले नराम्रो नजिर स्थापित गर्दैन ।’

एमालेले गत २३ गतेबाटै संसद्मा नाराबाजी गर्दै मच्चाउँदै आएको छ । २३ गते पनि ३ पटक बस्न जमर्को गरेको बैठक अन्ततः नबसीकनै स्थगित भएको थियो । आज पनि सभामुख सापकोटा पेलेरै अगाडि बढे । अब कहिलेसम्म संसद्मा यसरी नाराबाजी गर्नुहुन्छ ? भन्ने मकालुखबरको जिज्ञासामा नेम्वाङ्ग भन्छन्, ‘जहिलेसम्म सभामुखको घैँटोमा घाम लाग्दैन, तबसम्म हामी संसद्को लडाइँलाई जारी राख्छौँ । संविधान विपरीत, व्यवस्था र अभ्यास विपरीत चल्न त हामी दिँदै दिँदैनौँ नि । अहिले पनि हामी संसद्को सबैभन्दा ठूलो दल हौँ । हामी त्यो ल्याकत राख्छौँ ।’

‘पेलेरै अगाडि बढ्ने सभामुखलाई ठेगान लगाउँछौँ’
एमाले संसदीय दलका सचेतक विशाल भट्टराई पलेरै अगाडि बढ्ने सभामुखको र नीतिविरुद्ध आफूहरुले दह्रो संघर्ष गर्ने बताउँछन् । ‘उहाँको यस्तो आचरणका विरुद्धमा हामी लड्छौँ,’ सचेतक भट्टराईले भने, ‘उहाँ जहिलेसम्म सुध्रिनुहुन्न, त्यो बेलासम्म हामी लडिरहने नै छौँ । विरोध गरिरहनेछौँ । देशलाई यसरी कुबाटोमा पुग्नुबाट हामी जोगाउँछौँ ।’

थप : सांसदलाई बोकेर रोष्ट्रममा पुर्‍याउने प्रयास (भिडिओसहित)

सभामुखले प्रमुख प्रतिपक्षीलाई ‘जसरी भएपनि पेलेरै अगाडि बढ्छु’ भन्ने नीति लिएको उल्लेख गर्दै प्रमुख सचेतक भट्टराईले थपे, ‘उहाँको यो नीतिका विरुद्ध हामी जसरी भएपनि लड्छौँ । हामी आफ्नो बुद्धि र शक्तिले भ्याएसम्म लड्छौँ । एमाले त फुटाउनुभयो फुटाउनुभयो उहाँले, अब संसद्मा समेत भेदभाव गर्न थाल्नुभयो । यो सह्य हुँदैन । म चेतावनीसमेत दिन चाहन्छु ।’

सभामुख संसद्को सर्वमान्य नेता हुनुपर्नेमा सभामुखबाट त्यो खालको व्यवहार नभएको सचेतक भट्टराईको भनाइ छ । भन्छन्- ‘सभामुख भनेको संसद्को नेता हो । तर, उहाँबाट त्यो खालको व्यवहार भएको छैन । उहाँले कांग्रेसलाई अर्कै, माओवादीलाई अर्कै, जसपालाई अर्कै र एमालेलाई अर्कै व्यवहार गर्दै हुनुहुन्छ । यो हुनु भनेको संसदीय सर्वोच्चताबाट भाग्नु हो । उहाँ भाग्दै हुनुहुन्छ ।’

सभामुख एकतर्फी देखिएको आरोप लगाउँदै प्रमुख सचेतक भट्टराईले मकालुखबरसँग भने, ‘सभामुखबाट भेदभाव भयो । यो संसदीय व्यवस्थामा निको होइन, हामी योविरुद्ध उहाँ नसुध्रिएसम्म लड्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *