दुर्लभ उपाधिको एक खुट्किलो वर्तिर पुगेका जोकोभिच

काठमाडौँ । एक दुर्लभ कीर्तिमानको नजिकै पुगेका टेनिस स्टार नोभाक जोकोभिच युएस ओपनको फाइनलमा आज खेल्दैछन् । यो उपाधि जिते ३४ वर्षका जोकोभिच ‘सर्वकालिक महान खेलाडी’ बन्नेछन् ।

यो उपाधि जिते उनी सर्वाधिक एकल ग्रान्डस्लामको उपाधि जित्ने पुरुष खेलाडी बन्नेछन् भने अर्कोतिर सन् १९६९ पछि एकै वर्ष चारवटै ग्रान्डस्लाम जित्ने कीर्तिमान पनि आफ्नो नाममा राख्नेछन् ।

जोकोभिचले सन् २०२१ मा अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन गरी तीनवटा ग्रान्डस्लाम जितिसकेका छन् । यी तीन उपाधिसँगै उनले अन्य दुई टेनिस स्टार राफेल नाडाल र रोजर फेडेररको २० पटक ग्रान्डस्लाम जित्ने पुरूष खेलाडीको कीर्तिमान बराबरी गरेका थिए ।

यूएस ओपनको उपाधिका लागि सर्वियन स्टार जोकोभिचले दोस्रो वरियताका डानिएल मेडभेडेभसँग नेपाली समयअनुसार आइतबार मध्यराति खेल्नेछन् । सेमीफाइनलमा जोकोभिचले चौथो वारीयताका जर्मन अलेक्जेन्डर जेरेभलाई ४-६‚ ६-२‚ ६-४‚ ४-६ र ६-२ को संघर्षपूर्ण सेटमा हराउँदै कीर्तिमानतर्फको यात्रा कायमै राखेका थिए ।

यो पनि : दुर्लभ इतिहासको संघारमा जोकोभिच

यस्तै दोस्रो वरीयताका रुसी मेडभेडेभले क्यानडाका फेलिक्स अगर-एलीएसीमलाई सोझो सेटमा पराजित गरेका हुन् । तेस्रोपटक ग्रान्डस्लामको फाइनलमा पुगेका उनी पहिलो ग्रान्डस्लाम जित्न संघर्षरत छन् । मेडभेडेभ २०१९ को फाइनलमा राफेल नाडालसँग र गत अस्ट्रेलियन ओपनमा जोकोभिचसँगै फाइनलमा पराजित भएका थिए । त्यसकारण उनका लागि यो फाइनल जोकोभिचसँगको अस्ट्रेलियन ओपनमा व्यहोरेको बदला लिने अवसर पनि हो ।

‘आफ्नो लयमा विश्वास छ’
जोकोभिचले अहिलेको आफ्नो ‘फर्म’मा विश्वस्त रहेको बताएका छन् । उनले भने‚ ‘म धेरै लामो समय कुर्न सक्दिनँ । साँच्चै भन्नुपर्दा यतिबेला म उच्च लयमा छु र करिअरकै सर्वोत्कृष्ट टेनिस खेलिरहेको छु । यसले मलाई प्रोत्साहित गरेको छ ।’

त्यसो त सन् २०१६ को फ्रेन्च ओपन जितेपछि जोकोभिचले लगातार चारवटा ग्रान्डस्लाम जित्दै एउटा दुर्लभ सफलता हासिल गरेका थिए ।

अस्ट्रेलियाका रोड लेवरले सन् १९६९ का चारवटै ग्रान्ड्स्लाम जितेका थिए । त्यसयता यस्तो सफलता नाडाल र फेडेररले मात्र होइन‚ पिट साम्प्रासले समेत हात पार्न सकेका थिएनन् ।

त्यही वर्ष जोकोभिचलाई एकै वर्ष चारवटै ग्रान्डस्लाम जित्ने अवसर पनि थियो । तर विम्बल्डनमा साम क्वेरीले उनलाई निराश बनाए । त्यसको ६ वर्षपछि जोकोभिच अहिले त्यो अवसरमा पुन: आइपुगेका छन् ।

US Open 2021: Novak Djokovic closes on calendar Grand Slam with epic win over Alexander Zverev to reach final - Eurosport

जोकोभिचले अहिलेसम्म ९ पटक अस्ट्रेलियन ओपन, २ पटक फ्रेन्च ओपन, ६ पटक विम्बल्डन र तीनपटक यूएस ओपन जितेका छन् । उनले सन् २०१८ मा यूएस ओपन जितेका थिए ।

अस्ट्रेलियन ओपनका पछिल्ला लगातार तीन संस्करण जितेका जोकोभिचले विम्बल्डनका पनि पछिल्ला चारमध्ये तीन संस्करण हात पारेका छन् । अस्ट्रेलियन ओपनका रुपमा सन् २००८ मा पहिलोपटक ग्रान्डस्लाम विजेता बनेका जोकोभिचले सन् २०११ यता बाँकी १९ ग्रान्डस्लाम जितेका छन् ।

राफेल नाडाल सन् २०११ मा लगातार चार ग्रान्डस्लाम जित्ने अवसरको नजिकै पुगेका थिए । सन् २०१० फ्रेन्च ओपन, विम्बल्डन र यूएस ओपन जितेका नाडाल अर्को वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनमा भने क्वाटरफाइनलबाटै बाहिरिँदा उनले लगातार चार ग्रान्डसलामको सपना पूरा गर्न सकेनन् ।

नाडाल सन् २०११ को फ्रेन्च ओपनदेखि लगातार पाँचवटा ग्रान्डस्लामको फाइनलमा पुगे‚ तर तीमध्ये दुईवटाको मात्र उपाधि जित्न सके ।

यस्तै फेडेरर दुईपटक लगातार चारवटा ग्रान्डस्लाम जित्ने अवसरको नजिकै पुगेका थिए । उनले सन् २००६ को फ्रेन्च ओपन जितेको भए त्यस्तो सफलता हात पार्ने थिए । अर्को वर्ष सन् २००७ को फ्रेन्च ओपन जितेको भए पनि उनलाई त्यहि कीर्तिमान प्राप्त हुने थियो । तर त्यो सम्भव भएन ।

फेडेरर सन् २००५ को विम्बल्डनदेखि लगातार १० पटक ग्रान्डस्लामको फाइनलमा पुगेका थिए । जसमा उनले ८ उपाधि जिते । उनी फेरि सन् २००८ को फ्रेन्च ओपनदेखि लगातार ८ पटक ग्रान्डस्लामको फाइनल पुगे र चार उपाधि आफ्नो बनाए ।

फेडेरर यसपटक फेरि एकपटक त्यो दुर्लभ इतिहास बनाउने समयको संघारमा आइपुगेका छन् । हेरौँ उनी यसपटक सफल हुन्छन् वा हुँदैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *