दुर्लभ इतिहासको संघारमा जोकोभिच

काठमाडौँ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच एक दुर्लभ कीर्तिमानको नजिक छन् । जारी यूएस ओपनको उपाधि जिते ३४ वर्षका जोकोभिच ‘सर्वकालिक महान खेलाडी’ बन्नेछन् ।

सोमबारदेखि सुरु भएको यूएस ओपन टेनिस जोकोभिचका लागि यसकारण पनि महत्वपूर्ण छ कि यदि उनले यो उपाधि जिते एकातिर सर्वाधिक एकल ग्रान्डस्लामको उपाधि जित्ने पुरुष खेलाडी बन्नेछन् भने अर्कोतिर सन् १९६९ पछि एकै वर्ष चारवटै ग्रान्डस्लाम जित्ने कीर्तिमान आफ्नो नाममा राख्नेछन् ।

जोकोभिचले सन् २०२१ मा अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन गरी तीनवटा ग्रान्डस्लाम जितिसकेका छन् । यी तीन उपाधि जितेसँगै उनले अन्य दुई टेनिस स्टार राफेल नाडाल र रोजर फेडेररको २० पटक ग्रान्डस्लाम जित्ने पुरूष खेलाडीको कीर्तिमान बराबरी गरेका थिए । अब उनीसामु अघि बढ्ने अवसर छ ।

यद्यपी उनी यसपटकको ओलम्पिकमा स्वर्ण पदक जित्न भने असफल रहे ।

आफ्नो लयमा विश्वास छ
जोकोभिचले अहिलेको आफ्नो ‘फर्म’मा विश्वस्त रहेको बताएका छन् । उनले भने‚ ‘म धेरै लामो समय कुर्न सक्दिनँ । साँच्चै भन्नुपर्दा यतिबेला म उच्च लयमा छु र करिअरकै सर्वोत्कृष्ट टेनिस खेलिरहेको छु । यसले मलाई प्रोत्साहित गरेको छ ।’

त्यसो त सन् २०१६ को फ्रेन्च ओपन जितेपछि जोकोभिचले एउटा दुर्लभ सफलता हासिल गरेका थिए । उनले लगातार चारवटा ग्रान्डस्लाम जित्दै इतिहास रचेका थिए ।

अस्ट्रेलियाका रोड लेवरले सन् १९६९ का चारवटै ग्रान्ड्स्लाम जितेका थिए । त्यसयता यस्तो सफलता नाडाल र फेडेररमात्र होइन‚ पिट साम्प्रासले समेत हात पार्न सकेका थिएनन् ।

यद्यपि त्यस वर्ष जोकोभिचलाई एकै वर्ष सबै चार ग्रान्डस्लाम जित्ने अवसर पनि थियो । तर विम्बल्डनमा साम क्वेरीले उनलाई निराश बनाए । त्यसको ६ वर्षपछि उनी अहिले त्यो अवसरमा पुन: आइपुगेका छन् ।

जोकोभिचले अहिलेसम्म ९ पटक अस्ट्रेलियन ओपन, २ पटक फ्रेन्च ओपन, ६ पटक विम्बल्डन र तीनपटक यूएस ओपन जितेका छन् । उनले सन् २०१८ मा यूएस ओपन जितेका थिए ।

अस्ट्रेलियन ओपनका पछिल्ला लगातार तीन संस्करण जितेका जोकोभिचले विम्बल्डनका पनि पछिल्ला चारमध्ये तीन संस्करण हात पारेका छन् । अस्ट्रेलियन ओपनका रुपमा सन् २००८ मा पहिलोपटक ग्रान्डस्लाम विजेता बनेका जोकोभिचले बाँकी १९ ग्रान्डस्लाम सन् २०११ यता जित्न सफल भएका छन् ।

राफेल नाडाल सन् २०११ मा लगातार चार ग्रान्डस्लाम जित्ने स्थितिमा देखिएका थिए । सन् २०१० फ्रेन्च ओपन, विम्बल्डन र यूएस ओपन जितेका नाडाल अर्को वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनमा भने क्वाटरफाइनलबाटै बाहिरिँदा उनले लगातार चार ग्रान्डसलामको सपना पूरा गर्न सकेनन् ।

नाडाल सन् २०११ को फ्रेन्च ओपनदेखि लगातार पाँचवटा ग्रान्डस्लामको फाइनलमा पुगे‚ तर तीमध्ये दुईवटाको मात्र उपाधि जित्न सके ।

यस्तै फेडेरर दुईपटक लगातार चारवटा ग्रान्डस्लाम जित्ने स्थितिको नजिकै पुगेका थिए । उनले सन् २००६ को फ्रेन्च ओपन जितेको भए त्यस्तो सफलता हात पार्ने थिए । अर्को वर्ष सन् २००७ को फ्रेन्च ओपन जितेको भए पनि उनलाई त्यहि कीर्तिमान प्राप्त हुनेवाला थियो । तर त्यो सम्भव भएन ।

फेडेरर सन् २००५ को विम्बल्डनदेखि लगातार १० पटक ग्रान्डस्लामको फाइनलमा पुगेका थिए । जसमा उनले ८ पटक उपाधि जितेका थिए । उनी फेरि सन् २००८ को फ्रेन्च ओपनदेखि लगातार ८ पटक ग्रान्डस्लामको फाइनल पुगे र चारपटक उपाधि आफ्नो बनाए ।

फेडेरर यसपटक फेरि एकपटक त्यो दुर्लभ इतिहास बनाउने समयको संघारमा आइपुगेका छन् । हेरौँ उनी यसपटक सफल हुन्छन् वा हुँदैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *