धनकुमार, जो रुख चढ्छन् र पढ्छन्

पानी पर्दा छुट्छ कक्षा

काठमाडौँ । कोरोना कहरका कारण विद्यालयहरू बन्द छन् । महिनौं बन्द हुँदा पनि विद्यालय खुल्ने चालचुल भएन । यसैबीच खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरपालिकाका विद्यालयहरुमा साउन २४ गतेबाट अनलाइनमार्फत कक्षा चलाउने निर्णय गर्यो । अनलाइन कक्षा लिन पाइने त भयो तर, भनेजस्तो सजिलो थिएन । कसैको मोबाइल थिएन त कसैको भएको मोबाइलमा नेट टिप्दैन थियो । सरस्वती मावि अर्खौलेमा १० कक्षामा अध्ययनरत धनकुमार मगर यस्तैमध्येका एक विद्यार्थी थिए । उनले अनलाइनबाट कक्षा लिन अनेक यत्न गरे । तर अहँ मोबाइल डेटा अर्थात् इन्टरनेटको तरङ्ग भेटिएन । उनी हातमा मोबाइल सेट बोकेर नेटवर्क खोज्न निकै दिन यता उता हिँडे । तर फेला परेन । यसैपनि उनको गाउँमा मोबाइलको नेटवर्क नै नटिप्ने त्यसमाथि उनको घर गहिरोमा ।

 यसरी झण्डै हप्ता दिन बितिसकेको थियो । उनी निराश भए । अब कक्षा लिन नपाइने नै रहेछ भन्ने हुन थालेको थियो ।

तर एक दिन अचानक नेट भेटियो । नेट खोज्दा–खोज्दा गलेर एउटा रुखको फेदमा सुस्ताइरहेका बेला अचानक नेट भेटिएको उनले बताए । ‘रुखको फेदमा नेटवर्क अलिअलि देखियो, खुशी लाग्यो । अनि रुखमा चढ्दा पक्कै राम्रो नेटवर्क भेटिन्छ होला भन्ने लाग्यो, धनकुमारले भने, ‘नभन्दै रुखमा चढेर हेर्दा नेटको सिग्नल राम्रो थियो ।’

नेट त टिप्यो तर, कक्षा लिन जूम मिटिङ्गमा सहभागी हुने तरिका उनलाई थाहा थिएन । विद्यालय घरबाट दुई घण्टा टाढा भएकाले विद्यालय गएर बुझिहालौँ भन्न पनि सजिलो थिएन । उनले साथीहरुसँग सोधखोज गरेर आइडी पासवर्ड पत्तो लगाए । अनि दुई दिन रुखको हाँगामा उभिइ उभिइ कक्षा लिए । तर हरेक दिन दिनभरी त्यसरी नै कक्षा लिन सम्भव थिएन । धनकुमारले उपाय सोचे ‘अब यही बस्ने व्यवस्था गर्नुपर्यो ।’ उनले उपाय लगाए । रुखमै बसेर पढ्न र लेख्न समेत मिल्नेगरी बारबेर गर्ने योजना बनाए । साल सतिबयर र बाँसले बारबेर गरेर तयार भयो उनको अस्थायी कक्षा ।

एउटा खाटजत्रो पढ्ने ठाउँ तयार गरेपछि उनले रुख चढ्न भर्याङ्ग बनाए । जहाँ चकटी ओछ्याएर बिहान १० बजेदेखि ३ बजेसम्म कक्षा लिने गरेको धनकुमारले बताए ।

मकालुखबरसँग उनले भने, ‘मेरो घर अल्लि गहिरोमा भएकाले नेटवर्क टिप्दैन । साउन २४ गतेबाट स्कूलले अनलाईन कक्षा सुरु गर्यो । घरमा डेटा नचल्ने भएपछि कहाँ चल्ला त भनेर खोज्दै जादा घरबाट १० मिनेट जति परको रुखमा डेटा चल्यो । त्यसैले त्यहीँबाट कक्षा लिइरहेको छु ।’

तैपनि पानी परेको बेला भने उनको कक्षा छुट्छ । ‘छानो बनाउन नसकेकोले पानी परेको दिन चाहिँ कक्षा लिन मिल्दैन’ उनले भने ।

धनकुमारले एक हप्ताको लागि मोबाइल डेटा लिएर कक्षा लिने गरेका छन् । उनी साढे ९ बजेतिर खाना खाइवरि किताब कापी र मोबाइल बोकेर निस्कन्छन् । रुख चढ्छन् र पढ्छन् । धनकुमार भन्छन्, ‘रुख त्यती अप्ठेरो छैन । बानी भएर होला सजिलै चढ्ने ओर्लने गर्न सक्छु ।’

धनकुमारको एकजना ८ कक्षामा पढ्ने भाइको भने भौतिक उपस्थितिमै कक्षा चलिरहेको उनले जानकारी दिए । धनकुमार कक्षाका दोस्रो विद्यार्थी हुन् ।

तस्बिर सौजन्यः नवीन चाम्लिङ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *