एकतापछि प्रचण्डले एमाले सिध्याउनेतर्फ मात्रै सोचे- खरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले सञ्चारमाध्यमप्रति असन्तुष्टि जनाएका छन् । पेशागत तथा प्रगतिशील कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) को कार्यक्रमलाई सम्बोधन गर्दै खरेलले भने ‘केपी शर्मा ओलीले एउटा अध्यादेश ल्याउँदा कोकोहोलो मच्चाउने प्रेस कहाँ छ ? आज त उही अध्यादेश ४० बाट २० र माझमा राखिएको र पनि हटेको छ । तर सञ्चारमाध्यम चुपचाप छन् । कहाँ छ प्रेस ?’

यस्तै खरेलले पूर्वप्रधानन्यायाधीशहरूप्रति पनि असन्तुष्टि जनाएका छन् । ओली नेतृत्वको सरकारका पालामा दुईपटक विज्ञप्ति जारी गरेको स्मरण गर्दै खरेलले भने, ‘न्यायालय न्यायालयजस्तो बन्यो कि बनेन ? न्यायाधीशहरु न्यायाधीशजस्तो बने कि बनेनन् ? भन्नु कुरा धेरै छ । म यत्ति चाहन्छु । न्यायालय सधैं न्यायालयजस्तो बनोस् । कोही आओस् जसले न्यायालय न्यायालयजस्तो बनाउँछ ।’

‘एकतापछि पनि प्रचण्डले एमाले सिध्याउनेगरी काम गरे’

खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमाले फुटाउनेगरी काम गरेको आरोप लगाएका छन् । एमाले–माओवादी एकता भएपछि पनि प्रचण्डले एमाले सिध्याउनेतर्फ मात्रै सोचेको खरेलको आरोप छ । ‘उहाँले खाली एमाले कसरी सिध्याउने भनेर रणनीति मात्रै बनाउँदै हिँड्नुभयो । १९ पन्ने आरोपहरु लगाउने काम गर्नुभयो । त्यसपछि पार्टी फुटको डिलमा पुग्यो । अन्ततः पार्टी फुट्यो नै ।’

माओवादीसँगको एकताकै कारण एमाले आफैं पनि सग्लो रहन नसकेको खरेलको आरोप छ ।

‘माधव नेपालले किन दुईवटा पद लिएको ?’

खरेलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुईवटा पद लिएको भन्दै आलोचना गरेका छन् । एमाले हुँदा एक व्यक्ति, एक पदको धारणा अघि सारेको बताउँदै आएका नेपालले नयाँ दल बनाएपछि आफैं अध्यक्ष र आपफैं संसदीय दलको नेता बनेको भन्दै खरेलले भने, ‘उहाँ त एक व्यक्ति एक पदको हिमायती होइन र ? अहिले हेर्नुस् त । आफैं अध्यक्ष पनि आफैं संसदीय दलको नेता पनि । यो चाहिँ भयो त एक व्यक्ति एक पद ?’

एमाले फुटाएर नेपालले अपराध गरेको खरेलको अभिव्यक्ति थियो । ‘पार्टी फुटाउनुभन्दा ठूलो अपराध राजनीतिमा केही हुँदैन,’ खरेलले भने, ‘उहाँले ठूलो अपराध गर्नुभयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *