जयसिंह प्रकरणबारे सरकारको खेलाँची !

काठमाडौँ । वर्तमान सरकारले सर्वाधिक सामना गर्नुपरेको प्रश्न हो- दार्चुला घटनाको छानबिन प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ? तर सरकारले भने यसबारे ठोस जवाफ दिन सकिरहेको छैन ।

बिहीबार मन्त्रिपरिषद् बैठकले धामीको परिवारलाई ‘आर्थिक सहायतास्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने,’ निर्णय गरेपनि यो प्रकरणमा भारतसँग बलियो गरी कुरा राख्न नसकेको र घटनाको छानबिनको कुरा पनि औपचारिकतामै सीमित गरेको आरोप लाग्ने गरेको छ ।

यो पनि : जयसिंहको खोजीमा भारतको असहयोग, ड्रोन उडाउन अनुमति दिएन

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार यसबारे गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गर्यो । सांसदहरूले पनि उही प्रश्न गरे– दार्चुला घटनाबारे सरकारले १० दिनभित्र प्रतिवेदन दिनेगरी छानबिन समिति बनायो । तर, प्रतिवेदन ३० दिनसम्म किन आएन ?

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद लालबाबु पण्डितले दार्चुला घटनाको प्रतिवेदन ढिलो गर्नमा गृह प्रशासन नै लागेको आशंका व्यक्त गरे ।

जयसिंह धामी महाकाली नदीमा खसेको नभई खसालिएको र उनको हत्या भएको भन्दै सांसद पण्डितले शंका गरे, ‘दार्चुला घटनाको रिर्पोट ढिलो गर्न गृहमन्त्रालय आफैँ लागिरहेको त छैन ?’

यो पनि : जयसिंहको परिवारलाई सरकारले १० लाख दिने

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्रकै सांसदहरूले पनि जयसिंह धामी नदी तर्ने क्रममा खसेको, बेपत्ता भएको जस्ता शब्द प्रयोग नगर्न सरकारको ध्यानाकर्षण गरे । ‘तुइन तर्ने क्रममा नदीमा खसि‍ी…’ यस्तो शब्द प्रयोग नगरौँ । खसालिएकै हो, खसी होइन‚’ माओवादी केन्द्रकी सांसद यसोदा सुवेदी गुरुङले दाबी गरिन् ।

सांसदहरूका यस्ता प्रश्नको सामना गरेका गृहमन्त्री खाँणको जवाफ अझ गज्जबको छ । छानबिन समितिमा रहेका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट आफन्तको उपचारका निम्ति भारतको दिल्ली गएको र अर्का सदस्य डीआईजी उद्धव थापा आफन्त बितेकाले बिदामा बसेकाले प्रतिवेदन तयार गर्न ढिलाइ भएको बताए ।

‘छानबिन समितिमा रहनुभएको सहायक सिडिओ ज्योत्सना भट्ट नातेदार बिरामी भएकाले उपचारको क्रममा दिल्ली जानु भा रैछ । दिल्लीबाटै एउटा इमेल पठाउनुभएको छ हामीलाई । उहाँले ३/४ दिन लाग्छ भनेको कारणले…‚’ मन्त्री खाँणले भने‚ ‘अर्का डिआइजी उद्धव थापा उहाँको पारिवारिक मान्छे बितेकाले त्यस स्थानतिर गएका कारणले रिपोर्ट बनाइसक्नुभएको छैन ।’

यो पनि : तुइन तर्ने क्रममा महाकालीमा एकजना बेपत्ता

गृहमन्त्री खाँणले दुई सदस्य बिदामा भएका कारण छानबिन समितिको म्याद थपिएको पनि बताए । ‘हिजो केही समय थप गरेका छौँ र‚ हामीलाई विश्वास छ‚ उहाँहरूले सत्यतथ्य छानबिन गरेर तथ्यकै आधारमा रिपोर्ट बुझाउनुहुनेछ‚’ उनले भने ।

गृहमन्त्री खाँणको फितलो प्रष्टीकरण सुनेपछि सांसदहरूले प्रश्नको वर्षा गरे ।

‘दार्चुला घटनाबारे गृहमन्त्रीज्यूले जे राख्नुभयो त्यसबाट सन्तुष्ट हुने एक प्रतिशत पनि ठाउँ देखिनँ‚’ एमाले सांसद लालबाबु पण्डितले भने ।

‘छानबिन समिति छिटो छिटो बनायौँ । काम शुरु गर्दै थियो । एउटा दिल्ली भागे, अर्को कहाँ, उनीहरू कति समय लाग्छ फर्किन त्यो पनि थाहा छैन । तीन पटक म्याद थपिसक्नुभयो । फेरि कति म्याद थपिनुपर्ने हो रिर्पोट आउनका लागि ?’ सांसद पण्डितले धारिलो प्रश्न गरे ।

यो पनि : दार्चुला प्रशासनले भन्यो- एसएसबीले तुइन काटेको पुष्टि भएको छैन

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको फोटो सामाजिक सञ्जालमा आउँदा समेत सरकार जिम्मेवार भएर छानबिनमा लागेको अनुभूत नभएको उनको भनाइ थियो ।

माओवादी केन्द्रकी सांसद रेखा शर्माले छानबिन समितिका सदस्य बिदामा बसेकाले प्रतिवेदन आउन ढिला भयो भन्न नमिल्ने बताइन् । ‘दुई देशको सम्बन्धमा अर्थ राख्ने यस्ता विषयको छानबिनमा ढिलोढालो भएर राम्रो भइरहेको छैन मन्त्रीज्यू‚’ उनले खबरदारी गरिन् ।

माओवादी केन्द्रकै सांसद महेश्वरजङ्ग गहतराजले भारतस्थित नेपाली राजदूतले दार्चुला घटनाबारे सरकारले आफूलाई कुनै निर्देशन र समन्वय नगरेको भनी सञ्चारमाध्यममा सुनेको उल्लेख गर्दै प्रश्न गरे‚ ‘भारतीय राजदूता‍ले सरकारले आफूसँग चासो नराखेको भन्ने आएको छ । यो के हो ?’

यो पनि : तुइन घटनाको सत्यतथ्य बाहिर ल्याउछौँ : संयोजक गौतम

सत्तारुढ कांग्रेसका सांसद देवेन्द्रराज कंडेलले भारतमा रहेको नेपाली दुतावासमार्फत् कुटनीतिक पहल भए/नभएको बारे प्रश्न गरे । ‘पहल भएको छैन भने दूतावासको आवश्यकता किन ?’ भन्ने उनको प्रश्न छ । ‘दिल्लीमा दूतावास छ । त्यहाँ सुरक्षा निकाय पनि छ । कुटनीतिक पहल भएको छ कि छैन ? छैन भने‚ पहल किन नगरेको ? पहल नहुने भने त्यो किन राख्ने ?’ सांसद कंडेलको प्रश्न छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दुई देशको सिमानामा भएको घटनाको छानबिनका लागि गठित छानबिन समितिका सदस्यलाई घर बिदामा बस्न दिन नमिल्ने प्रश्न उठाए ।

फाइल तस्बिर

सांसदहरूका कडा प्रश्नको जवाफमा फेरि पनि गृहमन्त्री खाँणको ठोस जवाफ भने आएन ।

‘छानबिनलाई तीव्रता दिनेछौँ र छानबिन प्रतिवेदनलाई यथाशीघ्र आउनेछ भन्ने नै म तपाईंहरूलाई विश्वास व्यक्त गर्न चाहन्छु‚’ उनको सोलोडोलो जवाफ दिए ।

यो पनि : तुइन बाँधेको रुखको नाप लिएर फर्कियो छानबिन टोली

गृहमन्त्रीको जवाफले दार्चुला घटनाबारे तत्काल कुनै प्रतिवेदन नआउने देखाएको सांसदहरूको तर्क थियो ।

कुटनीतिक पहलमा अलमल !
संसदको राज्य व्यवस्था समितिले दार्चुला घटनाबारे ‘कुटनीतिक पहल गरी दोषीलाई कारबाही गर्नू‚’ भनी सरकारलाई निर्देशन दिने गरी मस्यौदा तयार पार्‍यो ।

उक्त मस्यौदा समिति सभापति शशी श्रेष्ठले पढेर समितिको बैठकमा सुनाइन् । लगत्तै गृहमन्त्री खाँणले ‘कुटनीतिक पहल गरी दोषीलाई कारबाही गर्नु’भन्दा दोषी पत्ता लागिसकेको भन्ने अर्थ लाग्ने भएका कारण यसरी किटान गरेर समितिले निर्देश दिन नहुने सुझाव दिए ।

त्यसपछि समिति सभापति र समिति सदस्यहरूले छानबिनमा रहेको विषयमा किटान गर्ने समितिको मनसाय नरहेको बताए । तथापि, कुटनीतिक पहल नगरी यो समस्या समाधान नहुने भएकाले समितिले कुटनीतिक पहल गर्नु भनी निर्देश गर्ने बताए ।

यो पनि : दार्चुला तुइन घटना : के गर्दैछ छानबिन समिति ?

सरकारलाई सहयोग नै गर्ने आफ्नो मनसाय रहेको भन्दै समिति सभापति श्रेष्ठले ‘आवश्यक कुटनीतिक पहल गर्नू’ भन्ने शब्द लेख्ने प्रस्ताव गरिन् । समितिबाट यहि पारित भयो । समितिले दार्चुला घटनाबारे यथाशीघ्र छानबिन प्रतिवेदन सार्वजनिक गर्न र यस घटनाको सम्बन्धमा आवश्यक कुटनीतिक पहल गर्न सरकारलाई निर्देशन दियो ।

यो घटनाको छानबिनमा एकातिर भारतीय पक्षबाट असहयोग भइरहेको छ भने अर्कातिर नेपालले बनाएको छानबिन समितिले पनि प्रतिवेदन सार्वजनिक गर्न नसक्दा गृह प्रशासनमाथि नै प्रश्न उठिरहेको छ । यहिबेला गृहमन्त्री खाँणले ‘कुटनीतिक पहल गरी दोषीलाई कारबाही गर्नु भनी निर्देश’ नगर्न संसदीय समितिलाई आग्रह गरेका हुन् ।

बैठकपछि राज्य व्यवस्था समितिका एक सदस्य भन्दै थिए, ‘भनौँ भने आफ्नै सरकार । नभनौँ भने कुटनीतिक पहल गर्नु भनेर समितिले निर्देशन नगरोस् भन्ने चाहना राख्छ । यस्तो कुटनीतिक अलमलले कसरी हुन्छ ?’

उनको थप व्याख्या छ, ‘तर, यो सरकारलाई मात्रै भनेर आलोचना गर्नु पनि ठीक होइन । भारतले नेपाललाई हेर्ने दृष्टिकोण र व्यवहार कस्तो छ भन्ने यो घटनाले पनि देखाउँछ । तर, पनि नेपालले त आफ्नो पहल गर्नुपर्छ नि । यसमा नेपालको अलमल देखिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *