तुइन घटनाको सत्यतथ्य बाहिर ल्याउछौँ : संयोजक गौतम

धनगढी । दार्चुलाको व्यास गाउँपालिका- २ को मालघाटमा भएको तुइन घटनाको अध्ययन गर्न गठित छानबिन समितिका संयोजक जनार्दन गौतमले घटनाबारे सत्यतथ्य बाहिर ल्याउने बताएका छन् ।

मंगलबार साँझ समितिको टोलीसँगै दार्चुलाको सदरमुकाम खलंगा पुगेका उनले बुधबार घटनाबारे पत्रकारसँगको भेटघाटमा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

छलफलका क्रममा छानबिन समितिका संयोजक गौतमले घटनाबारे अध्ययनका लागि घटनास्थलमा पुगेर पारदर्शी तरिकाले अध्ययन अनुसन्धान गरेर घटनाबारे सत्यतथ्य बाहिर ल्याउने बताए । उनले अध्ययन अनुसन्धानमा सबैको सहयोगको अपेक्षासमेत गरे ।

‘घटनाबारे सही जानकारीको विश्लेषण, प्रत्यक्षदर्शीको बयान, स्थलगत अवलोकन तथा जानकारहरूसँग छलफल गरी घटनाको सत्यतथ्य बाहिर ल्याउनेछौँ,’ उनले भने, ‘यसमा सबैको सहयोग पनि आवश्यक छ ।’

घटनामा प्रत्यक्षदर्शी नै महत्वपूर्ण रहेको भन्दै उनले भने, ‘हामीले बिहान प्रत्यक्षदर्शीहरूसँग कुराकानी गरेका छौँ, साथै त्यस क्षेत्रको वस्तुस्थिति बुझेका जनप्रतिनिधी तथा स्थानीय नागरिकहरूसँग पनि छलफल गर्नेछौँ ।’ उनले पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिका लागि पनि छानबिन समितिले गम्भीर ढंगले सोच्ने बताए ।

सो क्रममा घटनाको पारदर्शी तरिकाले छानबिन हुनुपर्ने दार्चुलामा क्रियाशील पत्रकारहरूले छानबिन टोलीसँग माग गरेका छन् । छलफलमा सहभागी पत्रकार र मानव अधिकारकर्मीहरूले घटनालाई तोडमोड नगरेर सत्यतथ्य बाहिर ल्याउन, दोषीलाई कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्तिका लागि पहल गर्न अनुरोध गरेका छन् ।

समितिले घटनास्थल पुगेर फर्किएका सुरक्षाकर्मी र जिल्लास्थित अन्य सरकारी अधिकारीसँग समेत छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घटनाको सम्बन्धमा वास्तविक सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका डिएसपी वीरसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित तीनजनाको टोली स्थलगत निरीक्षणका लागि खटिएको थियो ।

घटनास्थल पुगेका ती अधिकारीसँग गृहको छानबिन समितिले थप विवरण लिएको छ । सरोकारवालाहरूसँगको छलफलका क्रममा समिति संयोजक गौतमले सत्यतथ्यको नजिक पुगेर घटनाबारे वास्तविक प्रतिवेदन सार्वजनिक गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *