तुइन तर्ने क्रममा महाकालीमा एकजना बेपत्ता

धनगढी । दार्चुलाको ब्याँस गाउँपालिका २ मालमा भारतको बाटो हुँदै सदुरमुकाम खलंगा आउने क्रममा तुइनबाट खसेर एकजना महाकाली नदीमा बेपत्ता भएका छन् । तुइनबाट खसेर सोही ठाउँमा ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । शुक्रबार बिहान साढे ८ बजे गाउँबाट भारत हुँदै सदरमुकाम आउने क्रममा नदीमा तुइन तर्दैगर्दा उनी खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाचुलाले जनाएको छ ।

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएका कारण उनी बेपत्ता भएको आरोप स्थानीयले लगाएका छन् । तर जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले भने घटनास्थलमा पुगिसकेपछि मात्रै घटनाबारे यथार्थ विवरण आउने बताए ।

उक्त तुइन अवैध भएको प्रहरीले जनाएको छ । उनकाअनुुसार अन्य ५÷६ जना स्थानीयहरु सामान लिन भारतको बाटो हुँदै दार्चुला आइरहेका बेला घटना भएको हो । ‘पाँच जनाले तुइन पार गरिसकेका थिए,’ उनले भने, ‘अन्तिममा जयसिंह तर्ने बेला खसेर बेपत्ता भएको भन्ने आएको छ । खोजीका लागि प्रहरी टोली खटाइसकेका छौँ ।’

उनको खोजीका लागि इलाका प्रहरी कार्यालय दुम्लिङ र सुनसेराबाट प्रहरी टोली खटाइएको बताए । सशस्त्र प्रहरी पनि खोजीका लागि त्यसतर्फ गइसकेको उनले जानकारी दिए । नेपालतर्फ सडक नहुँदा ब्यास क्षेत्रका स्थानीयहरुले दार्चुला सदरमुकाम खलंगा आउन भारतको बाटो भएर आउनुपर्छ ।

त्यसका लागि अवैध तुइनको प्रयोग गर्नुपर्छ । एसएसबीले तुइनबाट नदी पार गर्न दिँदैन । सरकारले तुइनमुक्त कार्यक्रमअन्र्तगत तुइन भएको ठाउँमा पुल बनाउन योजना सञ्चालन गरेको भएपनि पुल निर्माण अलपत्र छ ।

बेलाबेला एसएसबीले तुइन काटिदिने गरेको भएपनि स्थानीयले लुकाइछिपीले तुइन लगाउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *