पाण्डेलाई प्रश्न : दल रोज्नैपर्ने अवस्था आए के गर्नुहुन्छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) यत्तिबेला पार्टी जीवनकै ‘संकटग्रस्त’ अवस्थामा पुगेको छ । पार्टी अध्यक्ष खड्गप्रसाद ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच राजनीतिक मतभिन्नता हुँदा पार्टीमा विद्यमान संकट निम्तिएको हो । यत्तिबेला ओली समूह नेकपा (एमाले) र नेपाल समूह नेकपा (एकीकृत समाजवादी) भनेर चिनिएका छन् । यसो भनौँ— एमालेको दुई खेमा राजनीतिक रुपमा विभाजित भइसकेका छन् ।

पार्टी रोज्नैपर्ने स्थितिको सिर्जना नै गर्दैनौँ ।

नेपाल समूहले निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दर्ता गराएयता एमालेभित्र अझै फरक खाले राजनीतिक परिदृश्य देखिएको छ । ओली समूह नेपाल समूहलाई छुट्टै दल दर्ता गर्न नदिने ध्याउन्नमा छ भने नेपाल समूह दर्ता गरेरै छाड्नै अडानमा छ । यसपछि गत शुक्रबार दल दर्ताका लागि निवेदन दर्ता गराएको नेपाल समूहलाई निर्वाचन आयोगले समेत आउँदो ९ गते बोलाइसकेको छ । सम्भवतः त्यसपछि चाँडै नेपाल समूहले आफ्दो दल नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रमाणपत्र पाउनेछ । यद्यपि यसको प्रक्रिया अलिक लामो भएको निर्वाचन आयोगले जनाएको छ । ‘यसको प्रक्रिया अल्लि लामै छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘९ गते सनाखत हुन्छ । त्यसपछि प्रक्रिया अगाडि बढ्छ र दल दर्ता हुनसक्छ ।’

नेपाल समूह निर्वाचन आयोग पुगेपछि एमालेमा अर्को छुट्टै समूहसमेत बनेको छ । युवराज ज्ञवालीदेखि रघुजी पन्तसम्मको नयाँ समूहको ‘बटमलाइन्’ हो— एमाले एकता कायम । त्यसो त ज्ञवाली र पन्तसँगै अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेशकुमार भट्टराई, सुरेन्द्र पाण्डेलगायतले एकै स्वरमा भनेका छन्, ‘जसरी भएपनि एमाले एकता हुनुपर्छ, त्यसका लागि कार्यदलले बनाएको १० बुँदालाई नै केन्द्रमा राख्नुपर्छ ।’

उसो त यदि ‘तपाईंहरुले भनेबमोजिम एमाले अघि बढेन र दल रोज्नैपर्ने भयो भने के गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा नेता सुरेन्द्र पाण्डे भन्छन्, ‘त्यो अवस्था आउनै दिँदैनौँ । एमाले एकता कायम राखेरै छोड्छौँ ।’

यत्तिबेला नेकपा (एमाले) पार्टी जीवनकै एउटा ‘संकटग्रस्त’ अवस्थाबाट गुज्रिरहेको छ ।

गत असार २७ गते १० सदस्यीय कार्यदलले बनाएको १० बुँदासँग नेपाल स्वयम् असन्तुष्ट छन् । नेपालको गुनासो छ, ‘सहमतिको प्रस्तावनाले पार्टी कमिटी पूर्ण रुपले ०७५ जेठ २ तिर जानेबारे बोलेपनि ०७८ फागुन २८ बारे बोलेको छैन ।’ जसै एमालेभित्रको अहिलेको तेश्रो समूहको ‘बटमलाइन्’ त्यही १० बुँदे सहमतिको प्रस्तावना नै हो । यो सन्दर्भमा भन्ने हो भने नेपाल समूह अझै नफर्किन सक्छ । यद्यपि फर्किनुको विकल्प नभएको नेता पाण्डे बताउँछन् । ‘एमालेको मिलनबिन्दु नै १० बुँदे सहमतिको प्रस्तावना हो,’ नेता पाण्डेले भने, ‘यसबाट बाहिर गएर कहीँकतै सहमति वा मञ्जुरी जनाउन सकिँदैन ।’

दल रोज्नैपर्ने अवस्थासम्म आफूहरु नपुग्ने नेता पाण्डेको जिकिर छ । भन्छन्— ‘हामी त्यतातर्फ सोचेका पनि छैनौँ र पुग्दैनौँ पनि । हाम्रो एक मात्रै स्पीरीट् भनेको एमाले एकता हो, पार्टी एकतो हो । त्यसो हुँदा दल रोज्नैपर्ने बाध्यात्मक अवस्थामा हामी पुग्दैनौँ ।’

एमालेभित्र चार समूह

प्रधानमन्त्रीको हैसियतमा ओलीले ०७७ पुस ५ गते प्रतिनिधि सभा भङ्ग गरेपछि शुरु भएको एमाले विभाजनको शृङ्खला भदौ २ सम्मै आइपुगेको छ । यहाँ आइपुग्दासम्म एमालेमा स्पष्ट चार समूह बनेका छन् ।

नेपाल समूहले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएपछि सोही समूहबाट केही प्रभावशाली नेताहरु छुटिएर एकता दबाब समूह निर्माण गरेका छन् भने उपाध्यक्ष वामदेव गौतमले ०७७ माघ १४ गतेदेखि नै ‘एमाले एकता महाअभियान’ भन्दै छुट्टै समूह सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *