डा. देवेन्द्रराज पाण्डेको निधन, राष्ट्रले प्रखर बौद्धिक व्यक्तित्व गुमायोः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वरिष्ठ नागरिक अगुवा तथा पूर्वअर्थमन्त्री डा.देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले डा.पाण्डेको निधनसँगै राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व तथा लोकतन्त्रका सजग पहरेदार गुमाएको बताएका छन् ।

उनका अनुसार डा.पाण्डे नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा जीवनभर निर्भीकतापूर्वक उभिने अग्रणी नागरिक अगुवा थिए ।

नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा उनले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध दृढ आवाज उठाएको र नयाँ पुस्तालाई निरन्तर प्रेरित गरिराखेको थापाले उल्लेख गरेका छन् ।

थापाले डा.पाण्डे अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिने व्यक्तित्व भएको बताएका छन् ।

सार्वजनिक जीवनमा उनले प्रदर्शन गरेको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासतका रूपमा रहने उनको भनाइ छ ।

सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको पक्षमा डा.पाण्डेको योगदान विशेष स्मरणीय रहेको उल्लेख गर्दै थापाले उनले प्रज्वलित गरेको नागरिक चेतनाको दीप र छाडेर गएको बौद्धिक सम्पदाले नेपाली समाजलाई सधैँ मार्गदर्शन गरिरहने विश्वास व्यक्त गरेका छन् ।

सभापति थापाले यस दुःखद घडीमा डा. देवेन्द्रराज पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =