उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फछ्र्यौट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२/८३ मा दुई हजार १६३ मुद्दामध्ये एक हजार ३५४ मुद्दा फछ्र्यौट गरेको छ ।

प्रतिशतका आधारमा ६२ दशमलव ६० प्रतिशत मुद्दा फछ्र्यौट भएको सो अदालतले जनाएको छ ।

शुक्रबार वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले अदालतले दुई वर्षभन्दा पुराना सबै मुद्दा फछ्र्यौट गर्न सफल भएको जानकारी दिए ।

फछ्र्यौट भएका मुद्दा देवयानीतर्फ अंशवण्डा, माना चामल, सम्बन्ध विच्छेदलगायतका छन् भने फौजदारीतर्फ लागूऔषध, चोरी, डकैती, जर्बजस्ती करणी, ज्यान मार्ने उद्योग, किर्ते जालसाजी, बैङिकिङ कसुरलगायत रहेका छन् ।

न्यायाधीस ज्ञवालीका अनुसार असार मसान्तसम्म १८ महिना पूरा गरेका १५ वटा मुद्दा मात्र फछ्र्योट हुन बाँकी रहेका छन् । ती मुद्दा पनि साउनभित्रै टुङ्गो लगाउने लक्ष्य रहेको उनले बताए ।

अदालतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ६४२ र नयाँ दर्ता भएका एक हजार ५२१ गरी कुल दुई हजार १६३ मुद्दा लगतमा रहेका थिए । तीमध्ये एक हजार ३५४ मुद्दा फछ्र्यौट हुँदा ८०९ मुद्दा चालु अवस्थामा छन् ।

वार्षिक कार्य योजना अनुसार अदालतले दुई हजार ४९० मुद्दाको लगत रहने अनुमान गर्दै एक हजार ७४३ मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेको थियो । सोही आधारमा लक्ष्यअनुसार ७७ दशमलव ७ प्रतिशत उपलब्धि हासिल भएको छ ।

विगत तीन आर्थिक वर्षको तथ्याङ्कले भने फछ्र्यौट दरमा केही गिरावट देखाएको छ । आर्थिक वर्ष २०८०/८१ मा ७१ दशमलव ४१ प्रतिशत र २०८१/८२ मा ७५दशमलव ७४ प्रतिशत फछ्र्योट भएको थियो भने आर्थिक वर्ष २०८२/८३मा यो दर ६२ दशमलव ६० प्रतिशतमा झरेको छ ।

भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा अदालतमा आगजनी गरिएपछि चार महिना मुद्दा सुनुवाई रोकिएका कारण फछ्र्यौट दर घटेको न्यायाधीश ज्ञवालीको भनाइ छ ।

अदालतले जलेका मिसिलको प्राप्ति तथा प्रमाणीकरणकार्य पनि शतप्रतिशत सम्पन्न गरेको जनाएको छ । आर्थिक वर्षभर ७५३ वटा जलेका मिसिलको प्राप्ति र प्रमाणीकरण गरिएको उनले जानकारी दिए ।

बाँके र बर्दिया जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/८३ मा दर्ता तथा जिम्मेवारी सरेका मुद्दामध्ये बाँकेमा दुई हजार ७३३ र बर्दियामा एक हजार ३१२ मुद्दा फछ्र्योट भएका छन् ।

बाँके जिल्ला अदालतमा कुल सात हजार ४७ वटा मुद्दामध्ये दुई हजार ७३३ मुद्दा फछ्र्यौट भएको छ भने चार हजार ३१४ मुद्दा अझै विचाराधीन रहेका छन् । यसअनुसार बाँके जिल्ला अदालतको फछ्र्योट दर करिब ३८ दशमलव ८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 3 =