नेकपा (एकीकृत समाजवादी) ले ‘जबज’ छोड्छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) छोडेका नेता माधवकुमार नेपाल पक्षले राख्ने नयाँ नामदेखि चुनाव चिन्ह र झण्डासम्मको चर्चा व्यापक छ । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा शुक्रबार (आज) दोश्रो पटक निवेदन दिएको नेपाल पक्षले लिने/अपनाउने राजनीतिक सिद्धान्त कस्तो होला भन्ने कुतुहल पनि बढ्दो छ । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दल दर्ताका लागि निवेदन दर्ता गराएको नेपाल पक्षले अब जनताको बहुदलीय जनवाद (जबज) छोड्ने चर्चा पनि गाईंगुईं हुन थालेको छ ।

यद्यपि, नेपाल पक्षका नेताहरले भने जबज छोड्ने कुरा गलत भएको जिकिर गरेका छन् । ‘यी समाचारमा भ्रमबाहेक केही छैन,’ नेता मेटमणि चौधरीले मकालुखबरसँग भने, ‘योबारेमा छलफल नै भएको छैन । हामीले जबज छोड्दैनौँ ।’ पार्टीपङ्तिमा छलफलहरु भइरहे पनि पार्टीले यही राजनीतिक सिद्धान्त अवलम्बन गर्ने हो ।’ आफ्नो राजनीतिक सिद्धान्तबारे पार्टी स्पष्ट भइनसकेको नेता चौधरीको भनाइ छ । ‘पार्टीले आफ्नो राजनीतिक सिद्धान्त र बाटो रोजिसकेको छैन । हामी जबज हुँदै नै आएका छौँ । अझै हामी यहीँ बाटो हुँदै अगाडि बढ्ने नै सम्भावना उच्च छ । सायद हुन्छ पनि यही नै ।’

कतिपय नेताहरुको दाबी जबजले भनेको चरण पूरा भइसकेको छ भन्ने छ ।

निर्वाचन आयोग जानुपूर्व भएको भेलामा पार्टीको राजनीतिक सिद्धान्तको बारेमा छलफल भएपनि राजनीतिक रुपमा यही बाटो हिँड्ने भन्ने निर्णयमा भने नपुगेको चौधरी बताउँछन् । ‘धेरै साथीहरुले जबज हुँदै नै गन्तव्यतिर लाग्नुपर्ने सुझाव दिनु भएको छ,’ चौधरीले भनेका छन् ।

‘जबज छोडौँ’ भनेर कतिपय नेताले प्रस्ताव गरेपनि छलफलपछि नछोडौँ भन्नेमा ‘कन्भिन्स्’ भएका थिए ।

जबज छोडेर कुन सिद्धान्त अवलम्बन गर्ने भन्नेमा छलफल भएन ? भन्ने प्रश्नमा चौधरीले भने, ‘जबजको विकसित रूप जनताको बहुदलीय समाजवाद वा जनताको समाजवादलाई स्थापित गर्नुपर्छ भन्ने भएपनि अहिले त्यो होइन जबजकै बाटो हिँड्नुपर्छ भन्ने हो ।’ यो मानेमा जबज पार्टीले नछोड्ने उनको भनाइ छ ।

१५ वर्ष एमालेको शीर्ष नेतृत्वमा रहेको नेता नेपाल तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रतिपादित जबजको मस्यौदा तथा कार्यान्वयन चरणका प्रमुख नेतासमेत हुन् । नेतृ निरुदेवी जैरू भन्छिन्, ‘उहाँ (नेपाल) हरुले नै कार्यान्वयन गर्दै आउनुभएको सिद्धान्त हो जबज । त्यसकारण छोड्ने कुरा छँदैछैन् ।’ यो विषयमा खासै छलफल नै नभएको दाबी जैुरूको छ ।

000

एमाले–माओवादीबीच एकीकरण भएको बेला पनि नेपालले जबज छाड्न मानेका थिएनन् । एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि भने केपी शर्मा ओली पक्षले जबजबारे बहस थाल्यो भने नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसको विरोध गर्दै आए ।

साबिक नेकपाले एमालेको ‘जबज’ र माओवादीको ‘एक्काइसौं शताब्दीमा जनवादको विकास’ भन्ने कार्यक्रम स्थगन गरेर ‘समाजवादउन्मुख जनताको जनवाद’ भन्ने कार्यक्रम अघि सारेका थिए । फेरि एमाले ब्युँतिएसँगै उसको राजनीतिक मार्गदर्शक सिद्धान्त जबज नै बनेको छ ।

नेपाल पक्षका नेता राजेन्द्र पाण्डे पार्टीको नाममा समाजवादी आइसकेपछि आफू मार्गनिर्दिष्ट हुने राजनीतिक बाटो पनि समाजवादी नै हुनुपर्ने मान्यता राख्छन् । त्यसो त जबजको विकसित रुपमा नयाँ कार्यक्रम ल्याउन सकिने अर्का एक नेता बताउँछन् । ‘टुङ्गो लागिसकेको छैन,’ ती नेताले भनेका छन्, ‘जनताको समाजवादी कार्यक्रमको रुपमा हामी अगाडि जान सक्छौँ । अब जाने भनेको समाजवादतर्फ हो ।’

उसो त समूहका कतिपय नेताहरुको दाबी जबजले भनेको चरण पूरा भइसकेको छ भन्ने छ । तर अब बन्ने नयाँ ‘कम्युनिष्ट’ पार्टीले कुन बाटो अँगाल्छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *