देशभर मनसुनी गतिविधि सक्रिय, यो हप्ताभरि वर्षाको सम्भावना

काठमाडौं । आगामी साताभरि देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै साताको मध्यतिर देशका विभिन्न भू-भागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागकी मौसमविद् विनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदर स्थानभन्दा माथि रहनेछ भने पूर्वी भूभागमा साताको मध्यदेखि सरदर स्थानभन्दा केही माथि सर्दै तराई नजिक रहने अनुमान छ । यसका कारण साताभरि देशभर वर्षाको गतिविधि सक्रिय रहने उनले बताइन् ।
उनका अनुसार हिमाली क्षेत्रमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साताको सुरु र मध्यमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना छ । साताको सुरु र अन्त्यमा एकदुई स्थान तथा मध्यतिर केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको मौसमविद् महर्जनले जानकारी दिइन्। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि मध्यम वर्षा तथा साताको मध्यमा एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताइन् ।
त्यसैगरी, पहाडी क्षेत्रमा भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साताभर मध्यम वर्षा हुने अनुमान गरिएको जनाइएको छ । साताको सुरु र अन्त्यमा केही स्थानमा भारी वर्षा तथा मध्यतिर केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि साताको मध्यमा वर्षाको गतिविधि अझ सक्रिय हुने र केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ ।
तराई क्षेत्रमा पनि साताभर वर्षा जारी रहने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा साताको सुरु र मध्यमा भारी वर्षा तथा मध्यतिर केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिइन् । मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साताको सुरुमा एकदुई स्थान तथा मध्यतिर केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले साताको मध्यतिर वर्षा तीव्र हुने पूर्वानुमान रहेकाले नदीनाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा सहरी डुबान हुने स्थानका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।








