मेस्सीको डेब्यूको प्रतीक्षा

काठमाडौं । लियोनेल मेस्सीको पेरिस आगमनको हल्ला चल्दै पेरिस सेन्ट जर्मेइन (पीएसजी) समर्थकहरू उत्साहित थिए । उनीहरू चाहन्थे, जतिसक्दो चाँडो मेस्सी पीएसजी आइहालुन् । लामो प्रतीक्षापछि उनीहरूको त्यो सपना पूरा भइछोड्यो । अब समर्थकको अर्को प्रतीक्षा छ— मेस्सीले ‘डेब्यू’ गरुन् । पीएसजीको जर्सीमा मेस्सीको जादु हेर्न धेरै कुर्न नपरोस् भन्ने उनीहरुको हतारो हो ।

तर, यो कुराइ अझै केही समय लम्बिने संकेत देखिएको छ । पीएसजीले शनिबार राति स्ट्रासबर्गसँग खेल्दैछ । जुन खेलका लागि प्रशिक्षक पोचेटिन्होले २२ सदस्यीय टोलीमा मेस्सीलाई राखेनन् । यसले मेस्सीको ‘डेब्यू’को प्रतीक्षा थप लम्ब्याएको छ ।

पीएसजी पुगेसँगै मेस्सीले बिहीबारबाट अभ्यास सुरू गरिसकेका छन् । तर, मेस्सीको डेब्यू गर्नेबारे भने पीएसजीले अहिलेसम्म केही जानकारी दिएको छैन । तर उनी तत्काल पीएसजीका खेलमा देखिने सम्भावना कम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

जुलाई १० तारिखमा भएको कोपा अमेरिका फाइनलपछि मेस्सी मैदानमा देखिएका छैनन् । ३० जुनमा बार्सिलोनामा सम्झौता सकिएसँगै नयाँ सिजन सुरु हुनुअघि हुने प्रि–सिजन खेलहरूमा उनी देखिएनन् ।

मेस्सीले आफूलाई प्रि–सिजन आवश्यक रहेको बताएका छन् । मेस्सीले प्रि–सिजन आवश्यक रहेको बताएसँगै उनी तत्काल खेलमा नआउने सम्भावना छ । यद्यपि उनी जतिसक्दो चाँडो मैदान फर्कन प्रयासरत छन् । पीएसजीले घरेलु लिग ९ मध्ये ७ संस्करण जितेको छ । अघिल्लो सिजन भने उपाधि जित्न असफल भएको थियो ।

उसले अहिलेसम्म च्याम्पियन्स लिग भने जित्न सकेको छैन । त्यसैले पनि उसको अबको लक्ष्य च्याम्पियन्स लिग नै हुनेछ । यद्यपि मेस्सीको आगमनको प्रतीक्षा पनि धेरै लामो हुने छैन भन्नेमा पीएसजी समर्थक आशावादी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *