चौतर्फी विरोधपछि मेन्छयायेम गापाले भन्यो- भूलवस सार्वजनिक बिदा उल्लेख भएछ

काठमाडौं । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधनमा गाउँपालिकाभरी सार्वजनिक बिदा दिएकोबारे चौतर्फी विवाद भएपछि अर्को विज्ञप्ति जारी गरेको छ । जारी नयाँ विज्ञप्तिमा भूलवस ‘सार्वजनिक बिदा उल्लेख भएको’ जनाइएको छ । ‘सार्वजनिक बिदा दिन खोजिएको होइन,’ तीन दिनपछि निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘ भूलवस सार्वजनिक बिदा उल्लेख भएकोमा सच्याइएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’ निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ -‘मेन्छ्यायेयम गाउँपालिका ५ का समाजसेवी, बयोबृद्ध, ज्येष्ठ नागरिक कृष्णप्रसाद गौतमको निधन भएकोमा शोक प्रकट गरिएको हो, बिदा दिन खोजिएको होइन .’
यसअघि गत साउन २२ गते गाउँपालिकाका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससूरा कृष्णप्रसाद गौतमको निधनमा शुक्रबार एक दिन ‘शोक बिदा’ दिएको गाउँपालिकाले सूचना जारी गरेको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य संस्थाबाहेक गाउँपालिका कार्यालय, वडा कार्यालयहरू, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू एवम् गाउँपालिका मातहतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिको उल्लेख गरिएको थियो ।









