खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा प्रहरीको उपस्थिति बढ्यो

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकको दक्षिणी सीमा क्षेत्रमा खुला सीमानाका कारण सिर्जित विविध सुरक्षा चुनौतीहरू सम्बोधन गर्न प्रहरी सक्रियतापूर्वक परिचालित रहेको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आफ्नो धारणा राख्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा, संगठित अपराध र पछिल्लो समय बढ्दै गएको डिजिटल ठगीका विषयमा गम्भीर चासो व्यक्त गरेका हुन् । महानिरीक्षक कार्कीका अनुसार १ हजार १०४ किलोमिटर लामो दक्षिणी सीमा क्षेत्रमा नागरिकको सुरक्षाका लागि प्रहरीका ३ सय ६ वटा इकाइहरू परिचालित छन् ।
यसमा स्थायी युनिटका साथै नागरिकको सुरक्षार्थ स्थापना गरिएका अस्थायी प्रहरी चौकीहरू समेत समावेश छन् । सीमावर्ती क्षेत्रका बासिन्दाको सुरक्षा र प्रहरीसम्मको सहज पहुँच सुनिश्चित गर्न यी इकाइहरूले महत्वपूर्ण भूमिका खेलिरहेको उनले उल्लेख गरे । बैठकमा महानिरीक्षक कार्कीले खुला सीमानाका कारण निम्तिएका सुरक्षा चुनौतीहरूको चर्चा गरे ।
उनले लागुऔषधको अवैध ओसारपसारले तराईदेखि हिमालका चुचुरासम्मका युवाहरू प्रभावित भएको बताए । लागुऔषध मात्र नभई हातहतियार र विस्फोटक पदार्थको ओसारपसार, सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि र मानव बेचबिखन जस्ता संगठित अपराध नियन्त्रण गर्नु प्रहरीको मुख्य चुनौती बनेको बताए ।
महानिरीक्षक कार्कीले भन्सार छली र तस्करी नियन्त्रणलाई राष्ट्रिय सुरक्षा र आन्तरिक आर्थिक सुरक्षासँग जोडेर हेर्नुपर्ने बताए । सीमा क्षेत्रमा हुने अपहरण र शरीर बन्धक जस्ता घटनाले नागरिकको सुरक्षा अनुभूतिमा प्रत्यक्ष असर पुर्याएको उनको भनाइ छ । पछिल्लो समय नक्कली मुद्राको कारोबार र डिजिटल ठगी नयाँ चुनौतीका रूपमा उदाएको उनले जानकारी दिए ।
सीमापारि नक्कली नेपाली रुपैयाँ उत्पादन गरी नेपालमा वितरण गर्ने गरिएको र डिजिटल वालेटमार्फत नागरिकको बैंक खाताबाट रकम चोरी हुने घटनाहरू बढेको उन बताए । चिट्ठा परेको प्रलोभन देखाएर गरिने साइबर ठगी, अनलाइन सट्टेबाजी र हुण्डी कारोबारले वित्तीय सुरक्षामा गम्भीर असर पारेको उनले औंल्याए ।
सीमा क्षेत्रमा हुने डुबान, वन पैदावार र नदीजन्य पदार्थको अवैध दोहन तथा कवाडी सामानको तस्करीका कारण समूहगत द्वन्द्व बढ्ने गरेको उनले उल्लेख गरे । यस्ता गतिविधिले वातावरणीय समस्याका साथै शान्ति सुरक्षामा समेत खलल पुर्याएको उनको ठहर छ ।
सीमा क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले गत आर्थिक वर्षमा विशेष सक्रियता देखाएको छ । महानिरीक्षक कार्कीका अनुसार सो अवधिमा सीमा क्षेत्रमा मात्रै १ हजार ३ सय ६९ पटक अनुगमन र २ सय ९७ पटक विशेष गस्ती गरिएको छ । यस्तै, अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा १ हजार २ सय १ वटा संयुक्त गस्ती सम्पन्न गरिएको जानकारी उनले समितिलाई दिए ।








