जयसिंह महाकालीमा खसेकोबारे बयान दिन आज सदरमुकाम जाँदै प्रत्यक्षदर्शी

धनगढी । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ मा पर्ने मालघाटमा तुइन तर्ने क्रममा सोही ठाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भए । गएको शुक्रबार उनी भारतको बाटो हुँदै सदरमुकाम खलंगा आउन महाकाली पार गर्न तुइन तर्दै थिए ।

नेपालबाट पारि भारत हुँदै सदरमुकाम खलङ्गा जाने तयारीमा थिए । तर‚ भारतको जमिनमा पाइला टेक्न नपाउँदै उनी नदीमा खसे । तुइनमा तर्दै गर्दा पारितिर भारतीय सुरक्षाबल (एसएसबी)ले तुइन खोलिदिँदा नदीमा खसेको भन्ने स्थानीयको दाबी छ । स्थानीय प्रशासनले भने यसको आधिकारिक पुष्टि नभएको बताउँदै आएको छ । घटनाबारे चौतर्फी विरोध पनि भइरहेको छ ।

याे पनि : जयसिंह नदीमा खसेकोबारे के भन्छन् प्रत्यक्षदर्शी र जनप्रतिनिधि ?

अधिकांशले एसएसबीले नै तुइन खोलिदिँदा जयसिंह नदीमा खसेको र भारतीय एसएसबीलाई कारबाही गर्नुपर्ने भन्दै चर्को आवाज उठाइरहेका छन् । एसएसबीलाई कारबाही गर्नुपर्ने मागसहित विरोध प्रदर्शन पनि भइरहेका छन् । भारतीय थानामा उजुरी नै दर्ता गरिएको छ ।

आज बयान दिँदै प्रत्यक्षदर्शी
यसबारेमा बयान दिन घटनाका प्रत्यक्षदर्शीहरू आज (सोमबार) सदरमुकाम खलंगा जाँदैछन् । उनीहरू नेपालकै बाटो भएर जान लागेका हुन् । उताबाट जान सकिने अवस्था नभएको र एसएसबीको पनि डर भएकाले नेपालकै बाटो भएर जान लागेको प्रत्यक्षदर्शी कल्याणसिंह धामीले जानकारी दिए ।

प्रहरी र स्थानीय प्रशासनले आफूहरुलाई सोधिरहेको उनले बताए । ‘एसएसबीले डोरी काटेको पुष्टि भएको छैन भन्ने प्रहरी र स्थानीय प्रशासनले पनि हामीहरुलाई सोधिरहेको छ,’ प्रत्यक्षदर्शी कल्याणसिंहले भने, ‘हामीले जे भयो र जे दख्यौं त्यही भन्दै आएका छौं । आज हामी प्रत्यक्षदर्शीलाई घटनाबारे भन्नका लागि सदरमुकाम खलङ्गा बोलाएको छ । त्यहाँ पनि घटनाबारे सत्यतथ्य भन्नेछौँ ।’

थप :-
-एसएसबीले तुइन काटेको पुष्टि भएको छैन, सुरक्षा निकायको टोली घटनास्थलतर्फ
-एसएसबीविरुद्ध कारबाहीकाे माग गर्दै भारतीय थानामा जाहेरी
-जयसिंह आत्तिएर नदीमा खसेको भारतको दाबी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *