मलेसियाको अर्थतन्त्रमा ५.८ प्रतिशतको वृद्धि

एजेन्सी । मलेसियाको अर्थतन्त्र सन् २०२६ को दोस्रो त्रैमासिकमा ५.८ प्रतिशतले विस्तार भएको प्रारम्भिक अनुमान गरिएको छ ।
अघिल्लो त्रैमासिकको ५.४ प्रतिशतको वृद्धिको तुलनामा यो दर उच्च हो । शुक्रवार सार्वजनिक गरिएको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अग्रिम अनुमान अनुसार अधिकांश आर्थिक क्षेत्रहरूमा देखिएको सकारात्मक सुधारले यस वृद्धिलाई गति दिएको हो ।
मलेसियाको तथ्याङ्क विभागले जारी गरेको विज्ञप्तिअनुसार कृषि बाहेकका लगभग सबै प्रमुख आर्थिक क्षेत्रहरूमा वृद्धि देखिएको छ । सन् २०२६ को पहिलो ६ महिना (जनवरी–जुन) मा मलेसियाको अर्थतन्त्र ५.६ प्रतिशतले बढेको छ, जुन गत वर्षको सोही अवधिमा ४.५ प्रतिशत मात्र थियो ।
सेवा क्षेत्र ५.४ प्रतिशतले विस्तार हुँदै अर्थतन्त्रको मुख्य संवाहक बनेको छ । यस अन्तर्गत थोक तथा खुद्रा व्यापार, सूचना र सञ्चार, तथा यातायात र भण्डारण गतिविधिहरूले वृद्धिलाई मुख्य टेवा पुर्याएका छन् । त्यसैगरी, उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रको वृद्धिदर पहिलो त्रैमासिकको ५.९ प्रतिशतबाट बढेर ७.५ प्रतिशत पुगेको छ ।
निर्यातमुखी उद्योगहरू, विशेषगरी विद्युतीय र इलेक्ट्रोनिक सामग्री, अप्टिकल उत्पादन, पेट्रोलियम, रसायन, रबर र प्लास्टिकजन्य उत्पादनमा भएको सुधारले यो वृद्धि सम्भव भएको हो । खानी तथा उत्खनन क्षेत्रमा १०.२ प्रतिशतको उल्लेख्य सुधार देखिएको छ ।
अघिल्लो त्रैमासिकमा २.१ प्रतिशतले खुम्चिएको यो क्षेत्र प्राकृतिक ग्यासको उत्पादनमा भएको वृद्धिका कारण पुनरुत्थान भएको हो । निर्माण क्षेत्रमा भने वृद्धिको दर केही सुस्त देखिएको छ । अघिल्लो त्रैमासिकमा ७.७ प्रतिशत रहेको यस क्षेत्रको वृद्धिदर दोस्रो त्रैमासिकमा ६.६ प्रतिशतमा सीमित भएको छ ।
यस क्षेत्रलाई मुख्यतया डाटा सेन्टर जस्ता गैर–आवासीय भवन परियोजनाहरूले सहयोग पुर्याएका छन्। यता कृषि क्षेत्र भने ३.७ प्रतिशतले ऋणात्मक बनेको छ, जबकि पहिलो त्रैमासिकमा यस क्षेत्रमा २.६ प्रतिशतको वृद्धि देखिएको थियो ।








