सिक्किममा सुरुङ भत्किँदा ९ मजदुरको मृत्यु, १५ जना अझै फसे

नयाँदिल्ली । भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना मजदुरको मृत्यु भएको छ भने अझै १५ जना सुरुङभित्र फसेका छन् । विषाक्त मिथेन ग्यासका कारण उद्धार कार्य कठिन बनेको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
दुर्घटना सोमबार टिस्टा नदीमा निर्माणाधीन सरकारी जलविद्युत् परियोजनाको सुरुङमा भएको हो । त्यसबेला मजदुरहरू सुरुङ निर्माणको काम गरिरहेका थिए ।
सिक्किम राज्य विपद् व्यवस्थापन प्राधिकरणका निर्देशक राजीव रोकाले सुरुआतमा २५ देखि २७ जना मजदुर फसेको अनुमान गरिएको बताउँदै हालसम्म नौ जनाको शव निकालिएको जानकारी दिए । उनका अनुसार अझै १५ जना सुरुङभित्र रहेको अनुमान गरिएको छ र उनीहरूको उद्धारका लागि अभियान जारी छ ।
प्रारम्भिक जानकारीअनुसार सुरुङ भत्किनुको कारण विस्फोट हुन सक्ने अनुमान गरिएको भए पनि त्यसको वास्तविक कारण अझै स्पष्ट हुन सकेको छैन । दुर्घटना सुरुङको गहिरो भागमा भएकाले अनुसन्धानमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् । पछिल्ला केही दिनयता यस क्षेत्रमा परेको भारी मनसुनी वर्षाले पनि दुर्घटनामा भूमिका खेलेको हुन सक्ने अनुमान गरिएको छ ।
उद्धार कार्यमा सबैभन्दा ठूलो चुनौती सुरुङभित्र चट्टानबाट निस्किएको विषाक्त मिथेन ग्यास बनेको छ । अक्सिजन उपकरणसहितका विशेष उद्धार टोलीलाई मात्र सुरुङभित्र प्रवेश गर्न अनुमति दिइएको छ ।
राजीव रोकाले ग्यासको मात्रा अत्यधिक भएकाले उद्धार अभियान जटिल बने पनि अभियान तीव्र रूपमा जारी रहेको बताए । खानी दुर्घटनामा उद्धारको अनुभव भएका विशेष दक्ष टोलीलाई समेत परिचालन गरिएको उनले जानकारी दिए ।
भारतमा ठूला पूर्वाधार निर्माणका क्रममा हुने यस्ता दुर्घटना बारम्बार दोहोरिने गरेका छन् । वातावरणविद्हरूले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेका विकास निर्माणका गतिविधिले प्राकृतिक जोखिम बढाएको चेतावनी दिँदै आएका छन् ।
यसअघि सन् २०२३ मा उत्तराखण्ड राज्यमा निर्माणाधीन सडक सुरुङ भत्किँदा ४१ जना मजदुर १७ दिनसम्म सुरुङभित्र फसेका थिए । उनीहरूलाई लामो उद्धार अभियानपछि सकुशल बाहिर निकालिएको थियो ।








