बालबालिकामा सामाजिक सञ्जाल नियन्त्रणको लहर

पेरिस । बालबालिकाको मानसिक स्वास्थ्य, सुरक्षा र डिजिटल लतप्रतिको बढ्दो चिन्ताबीच विश्वका विभिन्न देशले सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा कडा बनाउने नीति अघि सारेका छन् ।

विश्वका करिब २० देशले १६ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने वा पहुँच सीमित गर्ने कानुनी व्यवस्था अघि बढाएका छन् ।

एएफपीका अनुसार तीमध्ये पाँच देशमा यस्ता प्रतिबन्ध कार्यान्वयनमा आइसकेका छन् ।

अस्ट्रेलियाले सन् २०२५ को डिसेम्बरदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू गरेको छ । इन्डोनेसिया र मलेसियाले पनि १६ वर्षमुनिका प्रयोगकर्तामाथि यस्तै प्रतिबन्ध लागू गरेका छन् ।

टर्कीले १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल निषेध गर्ने कानून पारित गरिसकेको छ । उक्त कानून सन् २०२६ को अन्त्यदेखि लागू हुने अपेक्षा गरिएको छ । संयुक्त अरब इमिरेट्सले पनि १५ वर्षमुनिका बालबालिकाका लागि प्रतिबन्ध लगाउने घोषणा गर्दै कार्यान्वयनको तयारी गरिरहेको छ ।

ब्राजिलले भने १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल खाता अभिभावकसँग अनिवार्य रूपमा जोड्ने र उमेर प्रमाणीकरण गर्ने व्यवस्था अघि बढाएको छ ।

चीनले सन् २०१९ देखि नै नाबालिगहरूको इन्टरनेट पहुँचमा विभिन्न सीमा लागू गर्दै आएको छ । सुरुमा अनलाइन गेममा समय सीमा र रातिको प्रयोगमा रोक लगाइएको थियो भने पछि सामाजिक सञ्जाल र स्ट्रिमिङ प्लेटफर्ममा समेत प्रतिबन्ध विस्तार गरिएको छ ।

युरोपमा पनि बालबालिकाको डिजिटल पहुँच नियन्त्रण गर्ने बहस तीव्र बनेको छ । युरोपेली आयोगले १३ वर्षमुनिका बालबालिकाका लागि पूर्ण प्रतिबन्ध र १३ देखि १८ वर्षसम्मका किशोरका लागि क्रमिक पहुँचको प्रस्ताव ल्याउने तयारी गरिरहेको छ ।

ग्रिसले सन् २०२७ देखि १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने घोषणा गरिसकेको छ । अस्ट्रिया र स्लोभेनियाले क्रमशः १४ र १५ वर्षमुनिका बालबालिकाका लागि यस्तै कानूनको तयारी गरिरहेका छन् ।

जर्मनीले उमेर वा प्लेटफर्मका आधारमा पहुँच सीमित गर्ने विकल्पबारे अध्ययन गरिरहेको छ भने स्वीडेनले सन् २०२८ देखि १५ वर्षमुनिका बालबालिकाका लागि प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ ।

डेनमार्कले पनि १५ वर्षमुनिका बालबालिकालाई धेरै सामाजिक सञ्जाल प्लेटफर्मबाट रोक्ने योजना सार्वजनिक गरेको छ । आयरल्यान्डले युरोपेली संघको साझा निर्णय नभए आफ्नै कानून ल्याउने संकेत दिएको छ ।

युरोपेली संघबाहिर नर्वेले १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल पहुँच सीमित गर्ने विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेको छ । बेलायतले सन् २०२७ को सुरुदेखि १६ वर्षमुनिका बालबालिकाका लागि प्रतिबन्ध लगाउने योजना अघि बढाइरहेको छ ।

क्यानाडाले पनि सामाजिक सञ्जाल प्रयोगको न्यूनतम उमेर १६ वर्ष बनाउने तयारी गरिरहेको छ भने भारतका विभिन्न राज्यमा समेत यसबारे छलफल सुरु भएको छ ।

यसैबीच फ्रान्सको संसद्मा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने विधेयक अन्तिम चरणमा पुगेको छ ।

प्रतिनिधिसभा र सिनेटबीच सहमति भएपछि मंगलबार विधेयकमाथि मतदान हुँदैछ । फ्रान्स सरकारले यो कानून आगामी सेप्टेम्बरदेखि लागू गर्ने लक्ष्य राखेको छ ।

फ्रान्सकी डिजिटल मन्त्री आन ले हेनाफले कानून लागू भए फ्रान्स युरोपमा ‘डिजिटल कानुनी उमेर’ निर्धारण गर्ने पहिलो देश बन्ने बताएकी छन् ।

पोर्चुगलले सामाजिक सञ्जाल, खेल, सेवा र डिजिटल एप प्रयोगका लागि न्यूनतम उमेर १६ वर्ष कायम गर्ने विधेयकमाथि छलफल गरिरहेको छ ।

स्पेनले सामाजिक सञ्जालमा खाता खोल्न आवश्यक न्यूनतम उमेर १४ बाट बढाएर १६ वर्ष पुर्‍याउने प्रस्ताव अघि सारेको छ भने इटालीको संसद्ले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिने कानूनमाथि छलफल गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 3 =