एसएसबीविरुद्ध कारबाहीकाे माग गर्दै भारतीय थानामा जाहेरी

धनगढी । दार्चुलाको व्यास गाउँपालिका-२ मालघाटमा भारतीय एसएसबीले तुइन काटिदिएपछि व्यासमा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भन्दै पीडित पक्षले भारतीय पुलिस थानामा जाहेरी (एफआईआर) दर्ता गराएका छन् ।

ब्याँसबाट शुक्रबार बिहान सदरमुकाम खलंगा आउन भारतको बाटो हुँदै तुइन तर्ने क्रममा ३३ वर्षीय धार्मी खसेर महाकाली नदीमा बेपत्ता भएका छन् । तुइन तर्नेक्रममा दुई जना एसएसबीले तुइन काट्दा धामी महाकालीमा बेपत्ता भएको भन्दै उनीहरुलाई कारबाहीको माग गर्दै धामीका आफन्तले भारतको पांगलास्थित पुलिस थानामा जाहेरी दर्ता गराएका हुन् ।

तुइन तरिरहेका बेलामा तुईन काटेर नदीमा खसाल्ने दुबै जना एसएसबी जवानहरुलाई कारबाहीको माग गर्दै आफूहरुले निबेदन दर्ता गराएको उनीहरुको भनाई छ । घट्ना घटिसकेपछि एसएसबीले डर, धम्की देखाई घट्नाबारे नबोल्न चेतावनीसमेत दिएको जाहेरीमा उल्लेख छ । घट्ना भएपछि एसएसबीका जवानहरु घटना स्थलबाट भागेका थिए ।

एसएसबी जवानहरुले गरेको गतिविधिहरुको बारेमा जानकारी गराउँदै शुक्रबार नै बेपत्ता धामीका आफन्त बहादुरसिंह धामी, जोगासिंह धामाले पांगला पुलिस थानामा जाहेरी दिएका हुन् । अनुमति नभएपनि महाकाली नदीमाथि दुबै देशका नागरिकहरु आवत-जावतका लागि तुइन लगाउँदै आएका छन् । वारिपारि नातागोता भएकाले आवतजावत गर्न दुबै देशका नागरिकले लुकेर भएपनि तुइन लगाउँदै आएका थिए ।

यो पनि : जयसिंह आत्तिएर नदीमा खसेको भारतको दाबी

विगतदेखि नै महाकाली नदीमाथि तुइन लगाएर आवत-जावत् गर्दै आएकोमा पछिल्लो समय एसएसबीले तुइन काटिदिने गरेको छ । सोही क्रममा मालमा तुइन लगाएको खबर पाएपछि दुई जना एसएसबी जवान त्यहाँ पुगेको स्थानीयको भनाई छ । जयसिंह धामी नदी पार गर्नै लागेका बेला एसएसबीले तुइन काटिदिएको प्रत्यक्षदर्शीहरुले बताइरहेका छन् ।

तुइन खसेको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पिथौरागढ जिल्लाधिकारीलाई पनि पत्र लेखेको थियो । त्यसको जवाफ फर्काउँदै भारतीय पक्षले तुइन काट्ने कार्यमा भारतीय एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ । ब्याँसको घट्नाको अनुसन्धानका लागि गृह मन्त्रालयले गृह सचिवको नेतृत्वमा छानबीन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहेका छन् । घटनाको अनुसन्धानका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली घटनास्थलमा खटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *