जयसिंह आत्तिएर नदीमा खसेको भारतको दाबी

धनगढी । दार्चुलाको व्यास गाउँपालिका २ मालघाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएको विषयमा भारतीय पक्षले जवाफ फर्काएको छ । घटनाको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई शुक्रबार गरेको पत्रचार अनुसार भारतीय प्रशासनले शनिबार त्यसको जवाफ पठाएको हो ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई औपचारिक रुपमा जवाफ पठाएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिए । उनले पत्रमा एसएसबीले तुइन नकाटेको दाबी गरिएको बताए । उनका अनुसार भारतले पत्रमा भनेको छ, ‘जयसिंहले तार फुकालेर नेपालतर्फ फाल्नेक्रममा एसएसबीलाई देखेर आत्तिएपछि आफै अल्झिई नदीमा खसेका हुन्, यसमा एसएसबीको दोष छैन् ।’ बरु भारतीय प्रशासनले धामीको खोजीका लागि नेपाली टोलीलाई सघाउन उद्दार टोलीसमेत बनाएको जनाएको पत्रमार्फत जानकारी गराएको प्रजिअ जोशीले बताए ।

याे पनि : ‘एसएसबीले तुइन काटेको पुष्टि भएको छैन’, सुरक्षा निकायको टोली घटनास्थलतर्फ

‘पत्र यस्तै व्यहोरा उल्लेख गरेर पठाइएको छ,’ उनले भने, ‘त्यहाँका प्रत्यक्षदर्शी भनिएकाहरुसंग पनि सोधपुछ भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार पत्रमा भारतीय पक्षले घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको उल्लेख गरिएको छ।

पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयमा पठाएका छन् । प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुुइनको डोरी निकालेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताएपछि स्थानीय प्रशासनले शुुक्रबार भारतीय एसडीम कार्यालयलाई पत्राचार गर्दै घटनाको छानविन गरेर सहयोग गरिदिन आग्रह गरेको थियो ।

उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण नम्बर ४४ गण र राष्ट्रिय अनुुन्धान जिल्ला कार्यालयबाट टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घटनाको छानविनका लागि शुुक्रबार गृह मन्त्रालयले समेत टोली गठन गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *