तुइन चुँडिएर युवक बेपत्ता प्रकरण फलोअप

‘एसएसबीले तुइन काटेको पुष्टि भएको छैन’, सुरक्षा निकायको टोली घटनास्थलतर्फ

धनगढी । दार्चुलाको व्यास गाउँपालिका-२ मालघाटमा तुइनमार्फत नदी तर्नेक्रममा खसेर एकजना बेपत्ता भएको घटनाबारे अनुसन्धानका लागि राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टाेली घटनास्थलतर्फ गएको छ । राष्ट्रिय अनुसन्धान विभागका दुई जना, सशस्त्रका डीएसपीसहित दुई जना र नेपाल प्रहरीका इन्सपेक्टरसहित दुई जना गरि ६ जनाको टोली घटनाबारे अनुसन्धानका लागि घटनास्थल मालघाटतर्फ गएको हो ।

टोली शनिबार बिहान घटनास्थल मालका लागि हिँडेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार टोली झण्डै सात घण्टाको समय लगाएर भारत हुँदै घटनास्थल मालघाट पुग्नेछ । नेपालबाट मालघाट पुग्न छोटो र मोटर बाटो नभएको र पैदलबाट लामो बाटो जाँदा डेढ दिन लाग्ने भएकाले भारत हुँदै घटनास्थल जानुपर्ने प्रहरी निरीक्षक चन्दले बताए । ‘भारतको सिघ्रम हुँदै नेपालको हुती भन्ने ठाउँमा आउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यहाँबाट करिब ६ घण्टाको दुरी पार गरेर मात्रै घटनास्थल मालघाट पुग्न सकिन्छ ।’ ६ जनाको सुरक्षाकर्मीको टोलीले त्यहाँ पुगेर घटनाबारे अनुसन्धान अगाडि बढाइने उनले बताए ।

  धामी बेपत्ता भएको स्थानमा खोजी गर्दै स्थानीय । तस्बिर सौजन्य : धनसिंह काकी

दार्चुलाको व्यास गाउँपालिका मालका ३० वर्षीय जयसिंह धामी भारत हुँदै सदरमुकाम खलंगा आउन लाग्दा तुइन तर्र्नेक्रममा शुक्रबार महाकाली नदीमा खरेर बेपत्ता भएका छन् । उनीसंग आएका अन्य पाँच जना तुइन तरेर वारि आइसकेपछि उनी अन्तिममा आउन लाग्दा तुइनबाट खरेर बेपत्ता भएको बताइएको छ । स्थानीयले तुइन तर्नेक्रममा भारतीय सुरक्षाबल एसएसबीले तुइन काटिदिएपछि उनी नदीमा खरेर बेपत्ता भएको बताएका छन् । तर स्थानीयको भनाई अहिलेसम्म पुष्टि हुन सकेको छैन । यसबारे अनुसन्धाननै भइरहेको प्रहरीले जनाएको छ ।

‘संगै आएकाहरु पनि अनभिज्ञ’
घटनाबारे अनुसन्धान गर्न भन्दै अहिले चौतर्फी दवाब परेको छ । सत्तारुढ दल नेपाली काँग्रेससहितका दलहरुले पनि घटनाबारे सत्यतर्फ बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन् । दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक चन्दले यसबारे थप अनुसन्धानका लागि टोली घटनास्थल गएको प्रष्ट्याए ।

याे पनि : तुइन तर्ने क्रममा महाकालीमा एकजना बेपत्ता

‘अहिलेसम्म भारतीय एसएसबीले तुइन काटेको हो भनेर देख्ने प्रत्यक्षदर्शी भेटिएको छैन,’ उनले भने, ‘बेपत्ता भएका व्यक्तिसंगै आएका अन्य व्यक्तिहरुले पनि तुइन काटेको नदेखेको बताएका छन् । राष्ट्रिय अनुसन्धान विभागको टोलीसहित गएको ६ जनाको टोलीले थप कुरा बाहिर ल्याउने प्रयास गर्नेछ ।’ उनले अगाडि भने, ‘जयसिंहसंगै आएकाहरुका अनुसार तुइन लगाएको ठाउँमा खोँच भएकाले वारिबाट पारी प्रष्ट नदेखिने रैछ, प्रष्ट उतै पुगेपछि थाहा हुन्छ ।’ घटनाबारे अनुसन्धानका लागि भारतीय सुरक्षा बल एसएसबीसंग पनि सहकार्य गरिने उनले बताए ।

उनका अनुसार सुन्सेरा प्रहरी र दुम्लिङ प्रहरी चौकीको टोली बेपत्ता भएका व्यक्तिको खोजीका लागि शुक्रबारदेखिनै खटिएको छ । एसएसबीले पनि आफ्नो क्षेत्रमा खोजी गरिरहेको उनले बताए ।

भारतीय प्रशासनलाई पत्राचार
व्यासमा भएको घटनाको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले सत्यतथ्य छानविनका लागि भारतीय प्रशासनलाई पत्रचार गरेको छ । जिल्ला प्रशासनले भारतको डीएम कार्यालय पिथौरागढ र एसडीएम कार्यालय धारचुलालाई सत्यतथ्य छानबीन गर्न पत्रचार गरेको हो ।

यस्तै सोही पत्र गृहमन्त्रालयलाई समेत बोदार्थको रुपमा पठाइएको निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन् । ‘भारतीय एसएसबीले तुईन काटेर नेपाली युवकको मृत्यु भएको भन्ने सन्दर्भमा सत्यतथ्य के हो भनेर जानकारी माग गरेका छौं,’ निमित्त प्रजिअ जोशीले भनिन्, ‘अहिलेसम्म भारतीय प्रशासनबाट त्यसको जवाफ आएको छैन् ।

थप : दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रीको निर्देशन

उनले घट्नाको विषयमा सत्यतथ्य पत्ता लगाउन सुरक्षाकर्मी पनि खटाइएको बताइन् । तुइनको तार चुडिएर बेपत्ता भएका हुन् वा एसएसबीले तार काटेर बेपत्ता गराएका हुन् भन्ने विषय पुष्टि नभएको उनले बताइन् । त्रिदेशीय सीमाना भएका कारण मालघाट क्षेत्रलाई भारतले सुरक्षाका दृष्ट्रिकोणले संवेदशील मान्दै आएको छ । यहाँ तुइन गैरकानुनी मानिन्छ । तर सहजताका लागि मानिसहरूले लुकेर तुइन लगाउँदै महाकाली वारपार गर्दै आएका छन् ।

स्थानीयका अनुसार एसएसबीले यहाँ तइन लगाएको देखेमा विगतदेखि काट्दै आएको थियो । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

One thought on “‘एसएसबीले तुइन काटेको पुष्टि भएको छैन’, सुरक्षा निकायको टोली घटनास्थलतर्फ

Leave a Reply

Your email address will not be published. Required fields are marked *