हेपाटाइटिस के हो‚ जोगिने कसरी ?

कलेजोका कोषहरुलाई हेपाटोसाइट भनिन्छ । हेपाटोसाइट भनेको कलेजोका तन्तुहरू हुन् । कुनै पनि कुराले कलेजोको हेपाटोसाइटलाई ड्यामेज गर्छ भने त्यसलाई हेपाटाइटिस भनिन्छ । तर विश्व हेपाटाइटिस दिवसको दिनमा कुरा गर्ने भनेको भाइरल हेपाटाइटिसबारेमा हो । यी यस्ता भाइरसहरू हुन्‚ जसले कलेजोलाई असर गर्दछ । भाइरल हेपाटाइटीसमा दुईथरीका भाइरस हुन्छन् । एउटा अक्यूट हेपाटाइटिस गर्ने हेपाटाइटिस ‘ए’ र ‘ई’ छन् । र क्रोनिक हेपाटाइटिस गर्न चाहिँ हेपाटाइटिस बी र सी छन् । त्यसबाहेक यहाँ हेपाटाइटिस डी पनि छ ।

हाम्रो देशमा हेपाटाइटिसको कुरा गर्दा ए, ई, बी र सी हुन् । डी खासै पाइँदैन । अक्यूट हेपाटाइटिस गर्ने ए र ई पानीबाट, फोहोर खानेकुराहरूबाट सर्ने गर्दछ । यसले अल्पकालीन समस्या देखाउँछ । भन्नुको मतलब‚ अहिले समस्या गर्छ र पछि आफैँ निको भएर जान्छ । तर जण्डिस हुने, बान्ता हुने, खान मन नलाग्ने‚ पेट दुख्ने भयो भने काम, पढाइलगायतमा बाधा पर्न जान्छ ।

गर्भवतीलाई यो रोग लागेमा ज्यान पनि जान सक्छ । हेपाटाइटीस बी र सीले चाँहिँ दीर्घकालीन रोग अथवा क्रोनिक हेपाटाइटिस गर्छ । यो प्रायःजसो रगतबाट, शारीरिक सम्पर्कबाट, संक्रमित आमाबाट बच्चाहरुलाई सर्ने गर्दछ ।

हेपाटाइटिस बी र सी भएमा मानिसको मृत्यु हुने सम्भावना कति ?

हेपाटाइटिस बी र सी भएको अवस्थामा तुरुन्तै मृत्यु हुने प्रतिशत एकभन्दा पनि कममात्र हुन्छ । ‘अक्यूट लिभर फेल्युअर’ भयो भने मृत्यु हुने सम्भावना हुन्छ ।

त्योचाहिँ एक प्रतिशतभन्दा पनि कम छ । तर यसको उपचार गरिएन भने क्रोनिक हेपाटाइटिस बी र सी हुने र यसको पनि उपचार गरिएन भने निको नहुने लिभर सिरोसिस भन्ने रोग लाग्ने सम्भावना हुनसक्छ । लिभर सिरोसिस भएपछि क्यान्सर पनि हुन सक्छ । सिरोसस हुनुभन्दा अगाडि पनि हेपाटाइटिस बीले क्यान्सर गराउन सक्छ । यदि खराबी गर्न शूरु गर्योस भने यसको उपचार गरिहाल्नुपर्छ ।

हेपाटाइटिस बी भने पोजेटिभ हुँदैमा सबैलाई उपचार गर्नुपर्छ भन्ने हुँदैन । यसमा अवस्था जाँच गरेर मात्र थाहा पाउन सकिन्छ । यो सजिलैसँग बुझ्न नसकिने रोग हो । त्यसैले यो रोगबारे थाहा पाउन विभिन्न जाँच गर्नुपर्छ । हेपाटाटिस सीचाहिँ रगतमा हेपाटाइटिस सी भाईरस देखिनेबित्तिकै उपचार गर्नुपर्ने रोग हो । यो उपचार गरेमा ९८ देखि १०० प्रतिशतसम्म नै रोग निको हुने सम्भावना रहन्छ ।

लक्षणहरू :
अक्यूट हेपाटाइटिस हुँदा मानिसलाई खान मन नलाग्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, हल्का ज्वरो आउन सक्ने र जन्डिस देखिने हुन्छ । तर क्रोनिक हेपाटाइटिस बी र सीमा लक्षण नै नहुन सक्छ । मानिसले बुझ्न पनि सक्दैनन् । जाँच गरेपछि मात्रै थाहा हुन्छ । क्रोनिक हेपाटाइटिस बढ्दै गइसकेपछि जब लिभर सिरोसिस हुन्छ वा कलेजोको क्यान्सर हुन्छ, त्यस समयमा भने विभिन्न लक्षण देखा पर्छन् । कलेजोको क्यान्सर हुँदा खान मन लाग्दैन ।

शरीरको तौल बिस्तारै घट्दै जान्छ । कलेजोको वरपर दुख्नेजस्ता सामान्य लक्षण देखिन्छ । लिभर सिरोसिस भएको बिरामीमा जन्डिस देखा पर्न सक्छ । हात खुट्टा सुन्निने, पेट फुल्ने, पेटमा पानी जम्ने, रगत बान्ता हुने र दिमागमा समेत असर परेर बेहोशी पनि हुन सक्ने लक्षणहरू देखिन सक्छ ।

हेपाटाइटिसको कारण र सर्ने तरिका
हेपाटाइटिस ए र ई फोहोर पानी, फोहोर खानेकुराबाट सर्ने गर्दछ, व्यक्तिबाट व्यक्तिमा सर्दैन । हेपाटाइटिस बी र सी एक व्यक्तिबाट अर्का व्यक्तिमा सर्छ । हेपाटाइटिस बी र सी संक्रमित व्यक्तिले अरुलाई रगत दिएको अवस्थामा रगतबाट सर्न सक्छ । शारीरिक सम्पर्कबाट पनि सर्न सक्छ । यदि आमा संक्रमित छ भने जन्मिँदा बच्चालाई पनि सर्न सक्ने सम्भावना हुन्छ । खाने कुरामा कसरी ध्यान दिने ? यसका लागि अलि ध्यान पुर्‍याउनुपर्ने हुन्छ । खानपानबाट सर्ने भनेको हेपाटाइटिस ए र ईमात्र हुन् । बी र सी खानपानबाट सर्दैन । सफा खानाचाहिँ खानुपर्छ ।

जथाभावी खानु भएन । विशेषगरी खानेपानीमा ध्यान दिनुपर्दछ । कुनै पनि व्यक्तिलाई हेपाटाइटिस भयो भने उसको कलेजो चाँडै नै बिग्रने सम्भावना हुन्छ ।

यसले गर्दा खानपानमा ध्यान दिन जरुरी छ । कुनै पनि हेपाटाइटिस भएर जण्डिस भएको अवस्थामा खाना बार्नुपर्दैन । प्रशस्त पौष्टिक कुरा खान जरुरी छ । अप्रशोधित औषधि खाँदा कलेजो अरु बिग्रने सम्भावना हुन्छ । हेपाटाइटिस संक्रमितको मृत्युदर हेपाटाइटिस ए र ईले साधारणतया मानिसको मृत्यु गराउँदैन । यो भएका मानिसलाई हप्ता-दश दिनजति लक्षण देखिन्छ ।

एक महिनादेखि डेढ महिनासम्ममा निको हुन्छ । तर दीर्घकालीन कलेजोका रोगी वा अन्य कारणले कलेजोमा समस्या भएका व्यक्तिलाई ए र ईको संक्रमण भएमो उसको मृत्यु चाँडै पनि हुन सक्छ । अर्को कुराचाहिँ हेपाटाइटिस ए र ई यदि गर्भवतीलाई‚ त्यसमा पनि गर्भको अन्त्यतिर भएमा त्यसले लिभर फेल गराएर मृत्यु गराउने सम्भावना पनि हुनसक्छ ।

हेपाटाइटिस बी र सीको बारेमा कुरा गर्दा संसारभरिमा प्रत्येक मिनेटमा एकजना मानिस यसकै कारण ज्यान गुमाइरहेका हुन्छन् । हेपाटाइटिस सी निको हुन सक्ने रोग हो । यसलाई निको पार्ने औषधि पनि छ । नेपालमा यकीन तथ्याङ्क नभएपनि अनुमानका आधारमा एक लाख २० हजार जति व्यक्तिलाई हेपाटाइटिस सीको संक्रमण रहेको ठानिएको छ । पहिचान गरेर निको पारियो भने हेपाटाइटिस सीलाई निर्मूल पार्न सकिने अवस्था छ । सरकारले ध्यान दिएर चाहेको खण्डमा यो निर्मूल पार्न सकिन्छ ।

नेपालमा करिब करिब एक प्रतिशतभन्दा केही कम जनतामा हेपाटाइटिस बीको संक्रमण रहेको मोटामोटी तथ्याङ्क छ । यसको मतलब ३ लाखको हाराहारीमा हेपाटाइटिस बीको संक्रमण भएको मान्न सकिन्छ । योचाहिँ कुनै कुनै क्षेत्रमा एकदमै धेरै छ । जस्तै हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, हुम्ला‚ जुम्ला, डोल्पालगायत जिल्लामा धेरै नै छ । करिब २ वर्षअघि उपल्लो डोल्पा जिल्लामा गरीएको परीक्षणमा ३ सय ९६ जनाको हेपाटाइटिस बी जाँच गर्दा ८२ जनामा भेटिएको थियो । यो करिब करिब २५ प्रतिशत हो । पहाडी जिल्लाहरुमा धेरै देखिएकाले पनि ती क्षेत्रमा अझ सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

(कलेजो रोग विशेषज्ञ प्रा.डा. केसीसँग मकालुखबरकर्मी समीक्षा गाहाले गरेको कुराकानी)

प्रतिक्रिया

One thought on “हेपाटाइटिस के हो‚ जोगिने कसरी ?

Leave a Reply to जनक बि क Cancel reply

Your email address will not be published. Required fields are marked *